२०८१ बैशाख २३, आईतबार    

स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा दलहरु

२०७८ फाल्गुन २२, आईतबार १४:१५ बजे

हेटौंडा/ स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

मकवानपुर जिल्लामा प्रभावशाली देखिएको नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले आन्तरिक तयारी अगाडि बढाएको हो । सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको मिति घोषणा गरिसकेको छ । निर्वाचन आयोगले पनि आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।

कांग्रेस र एमालेले अहिले टोल कमिटी गठन कार्यलाई तीब्रता दिइरहेको छ । माओवादी केन्द्रले आन्तरिकरुपमा वडा तहको अवस्थाको विषयमा बुझ्न सर्कुलर गरिसकेको छ । राप्रपाले चैतमै उम्मेदवार नै तोक्ने गरी तयारी अगाडि बढाएको छ ।

जिल्लामा विशेष गरी एमाले र कांग्रेसले जनता माझ पुगेर संगठन विस्तारको बहानामा आफ्नो मत छाम्ने काम गरिरहेको छ । राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाका अनुसार बैठकले फागुनभित्र वडाको बैठक सक्ने र चैत्र पहिलो हप्तासम्ममा उम्मेदवार छनौट गर्ने र चैत्रभित्र टोल कमिटी निर्माण तथा पहिलो चरणको घरदैलो तथा प्रचारप्रसार कार्यक्रम गरिने तय भएको छ ।

कांग्रेस र एमालेले भने जिल्ला समितिको वैठक नै राखेर स्थानीय तहमा कसरी अगाडि बढ्न सकिन्छ भनेर उम्मेदवार तय गर्नका लागि निश्चित मापदण्ड बनाउने तयारी गरिरहेको नेताहरुले बताएका छन् । एमालेले स्थानीय तहमा निर्वाचितसँग छलफल गरेर कसरी अगाडि बढ्ने भनेर निर्देशन दिइसकेको छ । कांग्रेसको जिल्ला अधिवेशन भर्खरै भएका कारण वैठक बसेर सवै विषय टुंगोमा पुग्ने केही समय लाग्ने जिल्ला सचिव भीमसेन महतले बताए ।