२०८१ बैशाख ४, मंगलबार    

स्वतन्त्र पार्टीबाट मकवानपुरमा उम्मेदवार तय

२०७९ आश्विन १३, बिहीबार ०९:५४ बजे

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रको लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय समितिले मकवानपुरको दुवै क्षेत्रको प्रत्यक्ष उम्मेदवार फाईनल गरेको हो ।

मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा युवा व्यवसायी टाकाराज थापा(सुरेश) र क्षेत्र नम्बर २ मा काँग्रेस मकवानपुरका पुराना नेता हाल स्वतन्त्र पार्टीमा रहेका भरत पराजुलीलाई उम्मेदवार घोषणा गरेको छ ।

मकवानपुरका युवा व्यवसायी थापा र लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गरेर केहि समय अघि मात्र स्वतन्त्र पार्टीमा आवद्ध भएका पराजुलीलाई लिएर आफुहरु निकै आशावादी रहेको रास्वापाका मकवानपुर सभापति राजकुमार न्यौपानेले बताए । मकवानपुरबाट विजयको सुरुवात गर्न आफुहरु निरन्तर जनताको घरदैलोमा पुगेको उनको भनाई छ ।

उम्मेदवार बनेपछि प्रतित्रक्रिया दिँदै क्षेत्र नम्बर २ का पराजुलीले जनताले पटक–पटक सांसद भएर जिल्लाको लागि माखो नमार्नेहरुलाई यो पटक हराउने र आफुहरुलाई जिताउने निश्चित भएको बताए । गठबन्धनका उम्मेदवार बिरोध खतिवडाप्रति ब्यङ्ग्य गर्दै उनले भने, ‘म उठने क्षेत्रमा चार पटक जितेर पनि केहि गर्न नसकेको माननिय उठ्दै हुनुहुन्छ भन्ने सुनेको छु, यो पटक जनताले परिवर्तनको लागि भोट हाल्ने र केही नगर्नेहरुलाई पत्तासाफ गर्ने सल्लाह गरेको कुरा उहाँले चाल पाउनुभएको छैन जस्तो छ ।’

काग्रेसको डनवाद र धनवाद विरुद्ध आफुले स्वतन्त्र पार्टी रोजेको बताउँदै उनले पार्टीले विश्वास गरेर दिएको टिकटबाट जितेर देखाउने दाबी गरे ।