२०८१ बैशाख १८, मंगलबार    

विकट कैलाशमा भिडियो एक्सरेसहित बर्थिङ सेन्टर सञ्चालनमा

२०८० आश्विन २५, बिहीबार १६:०० बजे

गाउँमै विशेषज्ञ डाक्टरसहित आधुनिक उपकरण उपलब्ध भएपछि सुत्केरी हुनका लागि अब चारघण्टाको कष्टकर यात्रा तय गर्नुपर्ने समस्या हटेको छ ।

भौगोलिकरूपमा विकट रहेको मकवानपुरको कैलाश गाउँपालिकाले भिडियो एक्सरेसहित बर्थिङ सेन्टर सेवा सञ्चालनमा ल्याएसँगै सुरक्षितरुपमा सुत्केरी हुनका लागि हेटौंडा वा मनहरी जानुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले तामलाङस्थित ७ नम्बर वडामा रहेको ङिको स्वास्थ्य चौकीमा यस सेवा सञ्चालनमा ल्याएपछि नियमित गर्भ परीक्षण, पोषणको अवस्था तथा सुरक्षितरुपमा सुत्केरी हुने व्यवस्था मिलेको हो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा बर्थिङ सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएका छन् । उनले उपकरण र विशेषज्ञ डाक्टरको अभावमा सुत्केरी हुने समयमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए । उनका अनुसार पालिकाको वार्षिक नीति तथा योजनामै समेटेर ‘गर्भवतीसँग पालिका प्रमुख’ कार्यक्रम अन्तर्गत यस सेवा सञ्चालनमा आएको हो । यसअघि यहाँका गर्भवती सुत्केरी हुनका लागि हेटौंडा वा मनहरी गाउँपालिका जाने गरेका थिए । भौगोलिकरुपमा विकट र बाटो नहुँदा उनीहरु समस्यामा पर्दै आएको थियो ।

यस पालिकामा अति सीमान्तकृत चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ । आर्थिक अभावमा उनीहरुले नियमित गर्भ परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञ डाक्टर र भिडियो एक्सरेसहित सेवा सुरु गरिएको वडाध्यक्ष उदास भ्लोनले जानकारी दिए । उनका अनुसार एकैदिन ४० जनासम्म गर्भवतीले स्वास्थ्य परीक्षण गरेका छन् । डा विदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परीक्षण गरिरहेका छन् ।

पालिकाका सबै गर्भवती महिलाले सुरक्षितरुपमा गर्भावस्था जाँच सेवा प्रदान गर्ने गरी हेटौंडा अस्पतालका डा भण्डारीसँगको सहकार्यमा महिनाको दुईपटक गाउँपालिकामा सेवा दिने गरी तालिका निर्माण गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाट नै सेवा प्रदान गर्ने भएपछि स्थानीय खुशी भएका छन् । उनका अनुसार पालिकाको २, ३, ५, ८ र ९ नम्बर वडामा यसअघि नै वर्थिङ सेन्टर सञ्चालनमा छ ।