२०८१ बैशाख २०, बिहीबार    

निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

२०७८ फाल्गुन ४, बुधबार १८:०२ बजे

काठमाडौं/ स्थानीय तह निर्वाचनको प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता आह्वान गरिएको छ ।

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने जनाएको छ । हाल आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।

यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नु पर्ने हुन्छ ।

निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमूना समेत आयोगमा दल दर्ताको क्रममा पेस गर्नु पर्ने हुन्छ । राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारी विवरण आयोगमा पेस गर्नु पर्ने हुन्छ ।