२०८१ बैशाख २४, सोमबार    

चोरीका ४ मोटरसाइकलसहित १० पक्राउ

२०७९ श्रावण २३, सोमबार १३:०६ बजे

मोटरसाइकल चोरी गरेको अभियोगमा रामेछाप प्रहरीले १० जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । चोरीका घटना बढेपछि साताव्यापी विशेष अभियान चलाएर उनीहरूलाई पक्राउ गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी ल्याएका ४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई रामेछापको लुभुघाट क्षेत्रबाट र ३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई रामेछाप जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । उनीहरुलाई मोटरसाइकल चोरी भएको सम्बन्धित इलाकाका प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

काठमाडौंमा हराएका मोटरसाइकलहरू रामेछापको पश्चिमी क्षेत्र काभ्रेको सीमातर्फ बढी आउने गरेको पहिलेको अनुभवका आधारमा प्रहरीले त्यसतर्फ खोजी अभियान तीव्र पारेको थियो । खोजीकै क्रममा ४ थान मोटरसाइकल फेला परेका हुन् ।