२०८१ बैशाख २७, बिहीबार    

वाग्मती सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने

२०७८ फाल्गुन ५, बिहीबार १६:४५ बजे

वाग्मती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने भएको छ । प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुुसूची हेरेफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान सरकारले थप गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकता अनुसार अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश यातयाात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरिएको छ । बैठकले वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशको विभिन्‍न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि समेत पास गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा आउने मन्त्री शर्माले बताए ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ फागुन २७ गतेबाट चैत ५ गतेसम्म गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘खेल तालिका र व्यवस्थापनको विषय खेलकुद मन्त्रालयले टुंग्याउने गरी हामीले निर्णय गरेका छौं,’ उनले भने ।