२०८१ बैशाख ७, शुक्रबार    

भाडा बढाउन लागेकोप्रति उद्योगीको विरोध

२०७९ श्रावण ११, बुधबार १६:११ बजे

उद्योग संघ मकवानपुर औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनि लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध गरेको छ ।

नयाँ भाडा दर लागू गर्न लागेकोप्रति उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै जग्गा भाडा दर वृद्धिप्रति संघको पूर्ण असहमती रहेको बताए । विभिन्न उद्योग संघहरु र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालिन समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको प्याकुरेलले स्मरण गराए ।

लागू गर्न खोजिएको भाडा वृद्धि आवश्यक नरहेको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीका कारण थला परेका उद्योगहरु तंग्रिन खोजिरहेको बेला तरलता अभाव र महागीले धरासायी हुने स्थितिमा पुगेको बेला उद्योगीलाई भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको प्याकुरेलको भनाइ छ ।

संघले भाडा वृद्धि आवश्यक नभएको तथ्यांक सहित सुझाव समेत पेश गरेको छ ।