२०८० चैत्र १६, शुक्रबार    

बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउने, एस र नेपाली दललाई सहभागी नगराइने

२०७९ माघ १०, मंगलबार १८:५३ बजे

वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ ५ बजे बसेको मन्त्रिपरिषद् वैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाका अनुसार मन्त्रिपरिषद्मा नेकपा (एस) र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ । दुवै दलको समर्थनमा माओवदी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्रीमा दावी गरेका थिए । जम्कट्टेललाई नेकपाका ७ जना र हाम्रो नेपालीका २ सांसदले विश्वासको मत समेत प्रदान गरेको थियो । हाम्रो नेपाली दलले सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो ।

‘वाग्मतीमा अब मन्त्रालयको संख्या ११ कायम हुनेछ । हामीले गठन गरेको कार्यदलबाट प्राप्त सुझावको आधारमा मन्त्रालयको संख्या निर्धारण गरिएको हो ।’, थपलियाले भने । स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवदीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ । दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले जानकारी दिए ।

मन्त्रिपरिषद्को वैठकले देशमा विद्यमान आर्थिक संकटलाई मध्यनजर गदैृ मन्त्रालयगतरुपमा हुँदै आएको खर्च कटौती गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलको समय सीमा १५ दिन तोकिएको छ ।