२०८१ बैशाख ४, मंगलबार    

हेटौंडामा १३ सहकारी गायब, १५ दिनभित्र सम्पर्कमा नआए खारेज गर्ने उपमहानगरको तयारी

२०७९ श्रावण ३१, मंगलबार १६:१८ बजे

डिभिजन सहकारी कार्यालयमा दर्ता भई हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन गर्ने क्रममा  १३ सहकारी संस्था गायब रहेका पाइएको छ । उपमहानगरभित्र रहेका २२२ सहकारी संस्थामध्ये १३ सहकारी संस्थाको खोजी गर्दा कतै पनि नभेटिएका हेटौंडा उपमहानगरपालिका उद्योग, सहकारी, पर्यटन शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

तत्कालीन डिभिजन सहकारी कार्यालय मकवानपुरबाट २०७४ सालमा हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी हस्तान्तरण भएको थियो । त्यसलगत्तै उपमहानगरले १९ वटै वडामा सक्रिय एवं निष्क्रिय सहकारी संस्थाको खोजी गरिरहेको थियो । उपमहानगरले अनुगमन तथा खोजी कार्य गर्दा १३ सहकारी संस्थाको तोकिएको स्थानमा  कार्यालय नै नभएको पौडेलले बताए । 

सहकारी संस्थाले वार्षिक लेखा परीक्षण, साधारणसभा लगायत अन्य अतिआवश्यक कामहरू समेत नगरेको उनले बताए ।  पौडेल भन्छन्, ‘सहकारीहरूलाई त्यस्तै खारेज गर्न मिल्दैन । सर्वसाधारण जनताको लाखौं रकम फसेको हुनसक्छ । अब फेरि एकपल्ट ती सहकारीलाई सम्पर्कमा आउन १५ दिनको सूचना जारी गर्छाैं । उपमहानगरको जनशक्ति परिचालन गरेर सबै वडामा पत्र पठाउने कार्य गर्छाैं ।’ त्यसपछि पनि सम्पर्कमा नआए सहकारीहरू खारेज गरिने उनले बताए ।

यी हुन् गायब सहकारी संस्थाहरू [नामसहित]

हेटौंडा १ – नारी बचत तथा बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा २ – जलजला जडिबुटी सहकारी संस्था
हेटौंडा ३ – सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा ४ – जय कालिका बचत तथा बचत तथा ऋण सहकारी संस्था, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा बचत तथा ऋण सहकारी संस्था
हेटौंडा ७ – महालक्ष्मी कृषि सहकारी संस्था 
हेटौंडा ११ – महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारी संस्था
हेटौंडा १३ – नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा १६ – जुरेथुम कृषि सहकारी संस्था 
हेटौंडा १८ – आँपखोला दुग्ध उत्पादन सहकारी संस्था, रामधुनी महिला दुग्ध उत्पादन सहकारी संस्था