२०८१ बैशाख १७, सोमबार    

चैनपुरको जेसीज सप्ताह सुरु

२०८० आश्विन २८, आईतबार १९:०७ बजे

जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह सुरु भएको छ । आइतवार बिहान एक कार्यक्रमका वीच जेसीज सप्ताहको सुरुवात गरिएको हो ।

पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । बिहान मनहरी गापा ३ लामिटारमा जेसीजको सम्पर्क सचिवालय उद्घाटन गरिएको छ । कार्यक्रम संयोजक दीपक गोलेको संयोजकत्व एवम् अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गापाका स्रोत शिक्षक एवम् चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार बिदुरबिक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्थायी सचिवालय निर्माण नहुन्जेलसम्मका लागि जेसीजको गतिविधि सन्चालनका लागि सम्पर्क सचिवालय सन्चालनमा ल्याइएको अध्यक्ष अधिकारीले बताए । प्रमुख अतिथि थापाले प्रस्तावित शाखा रहँदै युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सकृयता देखाएकोमा खुसी व्यक्त गर्दै योजनावद्ध सबैसंग समन्वय गर्दै अभियान सन्चालन गर्न अनुरोध गरे । सप्ताह अन्तर्गत जेसीजका सदस्यका बीच जेसीजको बिषयमा हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

प्रतियोगितामा तीनजना उपाध्यक्षहरु मिलन ढुंगाना, सुरेश गौतम र मनोज बिष्ट प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई जेसीज सप्ताह समापनको क्रममा क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा ११ जना जेसीज सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक जयराम रिजालको संयोजकत्वमा कार्यक्रम भएको हो ।

सोमबार राक्सिराङमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण र मनहरी ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम हुनेछ । स्थानीय टोल विकाससँस्थाको आग्रहमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।