२०८० चैत्र १६, शुक्रबार    

स्कूल बक्सिङमा मकवानपुरका अरुणलाई स्वर्ण

२०७८ चैत्र ७, सोमबार १७:३० बजे

प्रथम राष्ट्रव्यापी खुला विद्यालयस्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेका पिप्ले बक्सिङ क्लबका अरुण सापकोटाले स्वर्ण पदक तथा सिलेन वाईबाले रजत पदक जितेका छन् । दुवै खेलाडीले अंकका आधारमा स्वर्ण तथा रजत पदक जितेको प्रशिक्षक लाला पौडेलले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा सोमबार भएको प्रतियोगितामा ३५ केजी तौल समूहमा मकवानपुरका सापकोटाले नक्सालका सक्षम लामालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । ४९ केजी तौल समूहमा मकवानपुरका वाइबाले मातृभूमि क्लब भक्तपुरका नवीनतम खड्कासाग पराजित हुादै रजत पदकमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरका खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन)को आयोजनामा भएको प्रतियोगितामा देशका विभिन्न जिल्ला र क्लबका ४८ जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मकवानपुर सापकोटाले ३५ केजी तौल समूहको क्वाटरफाइनल खेलमा भक्तपुरका प्रत्युस सुजकुलाई पराजित गरेका थिए । सापकोटाले सेमिफाइनलमा बक्समाण्डुका प्रकाश बोहरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । मकवानपुरका सिलेन वाइबाले ४९ केजी तौल समूहमा नक्सालका सिद्धार्थ श्रेष्ठलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।