२०८१ बैशाख २७, बिहीबार    

बर्जरमा सेक्युरिटी गार्ड आन्दोलित

२०७८ माघ ३, सोमबार ०७:२५ बजे

हेटौंडा/ हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित बहुराष्ट्रिय कम्पनी बर्जरमा कार्यरत् सुरक्षा गार्ड आन्दोलित भएका छन् ।

हाल कार्यरत् विश्वरुप सेक्युरिटी सर्भिस प्रालिबाट बर्जर कम्पनी मातहतमा नियुक्त गर्नुपर्ने र सेवा सुविधा वृद्धि गर्नुपर्ने दुईबुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले कम्पनीको गेट बाहिर आफ्नो मागसहितको व्यानर टाँगेर आन्दोलन गरिरहेका छन् । १८ जना सेक्युरिटी गार्डले आन्दोलनबारे जिल्ला प्रशासन, उद्योग संघ, उद्योग बाणिज्य संघ मकवानपुर, विभिन्न ट्ेरड युनियनलाई जानकारी समेत गराएका छन् ।

उनीहरु २ गतेबाट आन्दोलित भएका हुन् । उनीहरुले गेट अगाडि ८ घण्टा धर्ना दिइरहेका छन् । उनीहरुले कम्पनीसँग वार्ता गर्न तीन सदस्यीय समिति सदस्य छनौट गरेका छन् । समितिमा आन्दोलनरत अमिर लामा, सुजन थापा र समर्थ देउला रहेका छन् ।

‘हामीले हाम्रो मागको विषयमा सवैतिर जानकारी गराएका छौं । २१ दिने अल्टिमेटमा दिएका छौं । हाम्रो माग पूरा नभए अर्को चरणको आन्दोलन गर्छौ ।’, देउलाले पहिलो चरणमा शान्तिपूर्णरुपमा धर्ना दिइरहेको प्रष्ट्याए । आन्दोलरत् सुरक्षा गार्ड ५ वर्षदेखि कार्यरत् रहेका छन् । बर्जरले पेन्टसको उत्पादन गर्ने कम्पनी हो ।