२०८१ बैशाख २०, बिहीबार    

हेटौंडाको मेयर बन्न एमालेभित्र तीनजना आंकाक्षी

२०७८ माघ २७, बिहीबार १६:३१ बजे

हेटौंडा/ सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै जिल्लामा विस्तारै राजनीतिक चर्चा सुरु हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेभित्र हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट लागि तीनजना आकांक्षी देखिएको छ ।

जिल्लाको सवैभन्दा धेरै मतदाता रहेको यस उपमहानगरको मेयर बन्न अहिले एमालेभित्र तीन नेताबीच रस्साकस्सी नै सुरु भइसकेको कार्यकर्ताहरुले बताएका छन् । हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पार्टीभित्र टिकटका लागि लविङ्ग नै सुरु गरिसकेका छन् । करिब ३ अर्ब रुपैयाँ बजेट रहेको यस उपमहानगरको नेतृत्व हत्याउन एमालेभित्र अन्य नेताहरुले भने मुख खोलिसकेका छैनन् । तर, हाल चर्चामा रहेका महत, पौडेल र खुलालले भने आन्तरिकरुपमा आफू निकट नेतासँग आफ्नो पक्षमा वकलात गर्न आग्रह गरिरहेका छन् ।

स्रोतका अनुसार मेयरमा हालका अध्यक्ष एकालाल श्रेष्ठको दावी भएपनि उनले केही बोलेका छैनन् । ‘ठूला नेताहरु नै मेयरमा उठ्ने भनेपछि अन्यलाई बोल्नै समस्या भइरहेको छ ।’, एमालेका एक नेताले भने,‘नेताहरुले आफू निकट जननिर्वाचित वडाअध्यक्षलाई समेत आग्रह गरिरहेका छन् ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीवीच तालमेलहुँदा पनि एमाले विजयी भएका कारण मेयरका प्रत्याशी धेरै भएको अनुमान गरिएको छ । हाल नेकपा एमाले विभाजन भएपनि संगठित कार्यकर्ताको बलमा चुनाव जित्नेमा नेताहरु ढुक्क देखिन्छन् ।

हेटौंडा वाग्मती प्रदेशको राजधानी समेत रहेका कारण पनि राजीतिक तथा रणनीतिकरुपमा यहाँको मेयरको महत्व बढी रहेको छ । हेटौंडा वाग्मती प्रदेशको एक मात्रै उपमहानगरपालिका हो ।