२०८१ जेठ ४, शुक्रबार    

२०७९ सालको दशैंको टीका असोज १९ गते, विवाह र ब्रतबन्धको लगनैलगन

२०७८ माघ ४, मंगलबार १५:२८ बजे

हेटौंडा/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

आगामी आर्थिक वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो । वैशाख र जेठ महिनामा त एकदिन बिराएर विवाहको लगन जुरेको ढुंगेल बताउाछन् । उनका अनुसार वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । जेठमा ११ दिन, असारमा ५ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ ।

व्रतबन्धको लगन पनि कुनै महिना खाली छैन । वैशाखमा व्रतबन्धको दुईवटा लगन छ । जेठमा २, असारमा २, मंसिरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।