२०८१ जेठ ८, मंगलबार    

इन्द्र बानियाँको दावी : गठबन्धनको जीत सुनिश्चित, मतान्तर बढाऔं

२०७९ बैशाख १९, सोमबार १५:४६ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित भएको दावी गरेका छन् ।
सोमबार हेटौंडा–९ का युवाहरुलाई पार्टी प्रवेश गराउँदै बानियाँले गठबन्धनको जीत सुनिश्चित भएपनि मतान्तर बढाउन जरुरी रहेको औंल्याए । ‘गठबन्धनले अब मतान्तर बढाउने तर्फ ध्यान दिनुपर्छ । हेटौंडाको समग्र विकास गर्न हामीले जित्न जरुरी छ ।’, उनले भने ।

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड र उदण्डताबाट मुलुकलाई जोगाउन जरुरी रहेको औंल्याए । ‘झुट र आश्वासनको पुलिन्दाबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न हामीले गठबन्धन गरेका हौं । जनताले यस विषय बुझेका छन् ।’, उनले भने ।

कार्यक्रममा २० जना युवा राप्रपा पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । हेटौंडा उपमहानगरपालिका उपमेयरका उम्मेदवार राजेश बानियाँ, कांग्रेस हेटौंडा–५ सभापति यमबहादुर श्रेष्ठ र ९ नम्बर सभापति वीरेन्द्रकुमार लामालगायत सहभागी थिए ।