२०८१ बैशाख १२, बुधबार    

वाग्मती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

२०७९ श्रावण २७, शुक्रबार ०९:१६ बजे

वाग्मती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ। स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो ।

मन्त्रालयको प्रस्ताव अनुसार आर्थिक बर्ष ०७९/०८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावका जनशक्तिदेखि सवारी चालकसम्म छन् । मन्त्रीपरिषदबाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधि उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।

त्यस्तै, प्रदेश अस्पतालमा स्तरोन्नती भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयमा ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । ‘स्विकृत दरबन्दीमा करारमार्फत जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ’, उनले भने। दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाईहरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने उनको भनाई छ ।

प्रदेश अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य इकाईहरुमा २०५० सालको भन्दा दुई तिहाई दरबन्दी घटेको जनाईएको छ । यो अवधीमा सेवाग्राहीको चाप भने स्वास्थ्य संस्थामा बढ्दो रहेको छ। ‘स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य इकाईहरुमा सेवा सुविधा, उपकरण, पूर्वाधार र क्षमताको विकास गरेको छ’, स्वास्थ्य मन्त्री निमा लामाले भने, ‘आवश्यकता अनुसार जनशक्ति व्यवस्थापनले सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।’ उनले चालु आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्धत पुग्ने बताए । 

स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिटै अघि बढ्ने मन्त्रालयले जनाएको छ ।