२०८१ बैशाख ७, शुक्रबार    

बिहीबारदेखि अन्तर विद्यालय टी–२० क्रिकेट

२०७९ कार्तिक २२, मंगलबार १९:५२ बजे

जिल्लास्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।

मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुनेछ ।प्रतियोगिताबारे जानकारी दिनुहुँदै मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद कुमार बानियाँले प्रतियोगितामा सहभागिता जनाउन मंगलबारसम्म टिम दर्ताका लागि समय दिइएकोमा १२ टिमले सहभागिता जनाएको बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाएका विद्यालय टिम हेटौंडा उपमहानगरपालिका भित्रकै रहेको बानियाँले बताए ।

प्रतियोगिता अन्तर्गत हरेक दिन दुई खेल सञ्चालन हुने जनाइएको छ । बिहान ९ बजे एक खेल र दिउँसो १ बजे एक खेल सञ्चालन हुनेछन् । लिग कम नकआउटका आधारमा खेलाइने खेलको मंसिर १ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री र प्रतियोगिताका संयोजक धिरज श्रेष्ठको उपस्थिति रहेको थियो ।