मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका ७ मा शनिबारबाट स्वर्गीय गोकुल राउत स्मृति दोस्रो खुला नकआउट फुटबल प्रतियोगिता हुँदैछ । एफसी मनहरीको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मनहरी ७ नम्बर वडामा रहेको मदन भण्डारी क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । ‘लागूऔषध विरुद्वको बोल, खेलाडी उत्पादनमा जोड’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको एफसी मनहरीका अध्यक्ष आशिष गुरुङले जानकारी दिए । प्रतियोगिताको विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने हरेक खेलको म्यान अफ द म्याचले नगद एकहजार रुपैयाँसहित मायाको चिनो प्राप्त गर्नेछन् ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । एफसी मनहरीका पूर्व खेलाडी गोकुल राउतको स्मृति एवम् सम्मानमा क्लवले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । राउतको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो । करिब तीन वर्षअघि पहिलो संस्करणको आयोजना गरिएको थियो ।
यस वर्षबाट फेरि प्रतियोगितालाई निरन्तरता दिने प्रयास गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि मनहरी गाउँपालिकासहित स्थानीय संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । रेवा इन्टरनेशनल एकेडेमीले प्रतियोगिताका लागि मुख्य प्रायोजन गरेको क्लवका सचिव राजेश कोइरालाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गर्ने बताइएको छ ।