२०८१ बैशाख ७, शुक्रबार    

परिवारबाट हेपिएका र राज्यबाट ठगिएका ज्येष्ठ नागरिक

२०७९ बैशाख २८, बुधबार १३:१६ बजे

वाग्मती गाउँपालिका साततलेकी ठूलीमाया रुम्बा ७३ वर्षकी भईन् । उनका दुबै हातका औंलाहरु अररो परेर खुम्चिएका छन् । विगत सात वर्षदेखि उनका हातका औंला सीधा हुँदैनन् । र, आफ्नै हातका औंला आफूखुशी चलाउन सक्दिनन् उनी ।

सुरुमा हातमा सामान्य दुखाई भयो । कामले गर्दा यस्तो भयो होला भन्ठानेर रुम्बा घरेलु उपचार, झारफुकतिर लागिन् । तर, २० को १९ पनि भएन । विसेक हुनुको साटो अर्को हात पनि उस्तै भयो । दुबै हातका औंला चलाउन नसक्ने भएपछि रुम्बा उपचारको लागि नजिकको स्वास्थ्यचौकी गईन् ।
त्यहाँका स्वास्थ्यकर्मीले उपचारको लागि हेटौंडा अथवा काठमाडौं जान सुझाव दिए । उनलाई उपचारका लागि लैजाने मान्छे र पैसाको अभावले हेटौंडा सम्म पनि पाइला सर्न सकेन भने काठमाडौं पुग्ने सपना नै भयो ।

रोग पालेरै बस्नु शिवाय केही रहेन उनीसँग । उनी भन्छिन्, ‘यहि हातले घाँस, सोत्तर, कोदाली पात गरेकी हुँ । आज केही गर्न सक्दिन । आफैंले दुःख गरेर कति अन्न फलाएँ । अहिले आफ्नो हातले भातसम्म पनि खान नसक्ने अवस्था आयो ।’ आर्थिक अभावमा उनले उपचार पाएकी छैनन् ।

००००
कोरोनाको सुई हालेदेखि ज्यान दुख्ने, पाता झमझम गर्ने समस्या देखिएको भन्दै बाटुली माया स्याङतान हात्तीसुँडे स्वास्थ्य चौकीमा उपचारका लागि गईन् । रोगको लक्षण अनुसार स्वास्थ्यकर्मीले कोरोनाको सुुईले होइन, ग्याष्ट्रिक हो भनेर ग्याष्ट्रिक र दुखाई कम गर्ने औषधि दिएर पठाए । केही समय औषधि सेवन गरेपछि उनलाई निको भएको महसुस भयो । तर, औषधि सकिनासाथ स्याङतानलाई पुरानै समस्याले सताउन थाल्यो । अनि यसपल्ट उनलाई स्वास्थ्य संस्था जान मन लागेन । घरका सदस्यलाई आफूले खाइरहेको औषधिको खोल दिएर औषधि ल्याउन अह्राईन् ।

ग्याष्ट्रिकको औषधि भनेर विगत ३ महिनादेखि उनले आफूखुशी दुखाई कम गर्ने खाइरहेकी थिईन् । त्यो पनि दिनको तीन पल्ट । हातमा पहेंलो देखिने औषधि लिदै स्याङतान भन्छिन्, ‘यो औषधि खाएपछि ज्यान दुख्दैन । सञ्चो जस्तै हुन्छ । यो औषधि खान छोड्यो कि सोला हान्ने, ज्वरो आउने भैहाल्छ ।’ र, उनलाई कोरोनाकै सुईले आफूलाई यस्तो स्वास्थ्य समस्या आइलागेको शङ्का छ । यस्तो शङ्काले बस्ने उनी त प्रतिनिधि पात्र मात्रै हुन् ।

ग्रामिण भेगमा बस्ने अधिकांश वृद्धवृद्धा थप उपचारको लागि बाहिर जान मान्दैनन् । बल्लतल्ल स्वास्थ चौकीसम्म पुग्छन् । तर, फलोअप गर्न जाँदैनन् । बरु धामी झाँक्रीकै भर पर्छन् । घरका सदस्यले पनि उनीहरुको उपचारमा खासै चासो राखेको देखिँदैन । वृद्धवृद्धामा औषधि सम्बन्धि ज्ञान हुने कुरै भएन । बुढ्यौलीमा कुन औषधि कतिबेला खानेसम्म पनि सम्झिन गाह्रो हुन्छ । यस्ता कुरामा परिवारका सदस्यको सहयोग चाहिन्छ । परिवारले वास्ता नगर्दा आफुखुशी औषधि खान बाध्य छन्, ज्येष्ठ नागरिकहरु । जहाँ औषधिको फाइदा भन्दा बेफाइदा बढी देखिने गरेको छ ।

सरकारी अस्पतालमा सास्ती धेरै

चन्द्रनिगापुर रौतहट घर भएका इन्द्र बहादुर श्रेष्ठ उपचारकै लागि हेटौंडा आए । बिहान ८ बजे अस्पताल आइपुगेका ७० वर्षीय इन्द्रबहादुरको टिकट लिने पालोका लागि टोकन नम्बर २८४ थियो । लामो समयदेखि दमको रोगबाट ग्रसित उनी उपचारका लागि एक्लै अस्पताल आएका थिए ।

घरदेखि एक्लै आएका इन्द्रबहादुरको दुःखाई र पीडा अस्पतालले के बुझ्थ्यो ? एक दिनभर त टोकन, टिकट लिदै बित्छ, उनी बोले, ‘आज डाक्टसा’वलाई देखाउने मात्रै हो । रगत जाँच गर्न दियो भने औषधि पाउने मैले भोली मात्रै होला ।’ अस्पतालका सबै विभागमा इन्द्रबहादुरले वृद्धवृद्धाका लागि छुट्टै लाइनको व्यवस्था गरिदिएको भए राम्रो हुने सुझाव दिए ।

अस्पतालमा अधिकांश ज्येष्ठ नागरिक एक्लै आउने गरेका देखियो । परिवारका सदस्य आफुलाई व्यस्त देखाउँछन् । एक दिन आमाबाबुको लागि फुर्सद निकाल्न सक्दैनन् । जस कारण बाआमाले यस्ता कष्ट झेलिरहनु परेको छ ।

मैलो सर्जिकल मास्क लगाएर चाइनाक्वार्टर घर भएका ८५ वर्षीय भक्तबहादुर खड्का पनि एक्लै अस्पताल आएका रहेछन् । उनलाई त्यो मास्क एक पटक लगाएर पुन प्रयोग गर्न मिल्दैन भन्ने थाहै छैन । के गर्नु ? घरका सदस्य साथ आउन मान्दैनन् । र, एक्लै अस्पताल आउने गरेको बताउँछन् खड्का ।

००००
अस्पतालमा उपचारका लागि आउने अधिकांश ज्येष्ठ नागरिक एक्लै आउने गरेको हेटौंडा अस्पतालका फिजिसियन डा.विकास थापा बताउँछन् । उनका अनुसार साथमा कोही नहुँदा आफूमा भएको समस्या समेत राम्रोसँग भन्न नसक्ने, कुरा बुझाउन गा¥हो पर्ने, औषधिबारे बुझेर नलैजाँदा थप समस्या आउने गर्छ ।

यस्तै, अस्पतालले ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्था गर्न सकेको छैन । अन्य बिरामीसँगै ज्येष्ठ नागरिक घण्टौं लाइन बस्न बाध्य छन् । अस्पतालले ज्येष्ठ नागरिकलाई सहज र छिटो सेवा दिनुपर्नेमा त्यो हुन सकेको छैन । एक्लै उपचारका लागि आउने ज्येष्ठ नागरिक दिभर टोकन, टिकट, डाक्टरलाई देखाउने लाइन, ल्याब परीक्षणको लाइन बस्दा कति कष्ट हुन्छ, होला हामी अनुमान गर्न सक्छौं ।

आयुर्वेदिक औषधिमा विश्वास

८७ वर्षका कृष्ण बहादुर महर्जनलाई घुँडाको समस्या भएको लामो समय भयो । उनी उपचारका लागि हेटौंडा, भरतपुर काठमाडौंसम्म पुगे । तर, निको भएन । डाक्टरले घुँडाको उपचारका लागि धेरै रकम लाग्ने बताएपछि आर्थिक दुरावस्थाका कारण एलोपेथिक पद्दतीको उपचार गराउन सकेनन् ।
जिल्ला आर्युवेद औषधालयमा वृद्धवृद्धालाई निःशुल्क औषधि दिन्छ भन्ने थाहा पाएपछि उनी त्यता गए । अहिले आयुर्वेदिक औषधि खाइरहेका छन्, महर्जन । ६४ वर्षीया श्रीमती सीता महर्जन अहिले पनि निर्माण मजदुरको रुपमा काम गर्छिन् । सीता कृष्णबहादुरको दोस्रो श्रीमती । श्रीमतीले ज्यालादारी गरेर भएपनि दुई छाक खान पु¥याएकोमा सन्तोष मानिरहेका छन्, महर्जन । यो उमेर भयो केही गर्न सक्दिन भन्दै कृष्ण बहादुरका आँखा रसाए । उनले भने, ‘दुई ठाउँमा लड्दै यहाँ आइपुगे । बुढेसकालको सहारा नै यो लौरो भएको छ । यो बिना एक पाइला हिँड्न सक्दिन ।’

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा अधिकांश वुद्धवृद्धा नै आउने गरेको अस्पतालका सूूूचना अधिकारी अशोक कुमार झा बताउँछन् । अस्पतालले ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार र औषधि प्रदान गर्दै आएको छ ।

झाका अनुसार आर्थिक वर्षको चैत मसान्त सम्ममा ९ सय २७ ज्येष्ठ नागरिकले उपचार सेवा लिएको तथ्याङ्क छ । प्राय हाडजोर्नी, दमका विरामी धेरै आउने गरेका छन् । अधिकांश वृदवृद्धा एक्लै अस्पताल आउँदा औषधि सेवनबारे बुझाउन कठिन परेको बताउँछन्, स्वास्थ्यकर्मीहरु ।

ज्येष्ठ नागरिकमा मानसिक समस्या

परिवारबाट अपहेलना हुँदै गएपछि तथा एक्लोपना महसुस भएपछि घर छोड्ने ज्येष्ठ नागरिक धेरै छन् । घर, परिवारबाट टाढिएपछि वृद्धाश्रम नै घरको विकल्प बनेको छ । सन्तानका लागि दिलोज्यान दिएका वृद्धवृद्धालाई आफ्नै परिवारबाट तिरस्कृत बन्नुपर्दा विभिन्न किसिमका मानसिक समस्या देखापर्ने हेटौंडा अस्पतालको मानसिक रोग विशेषज्ञ डा. निशा ढङु्गाना बताउँछिन् ।

डाक्टर ढुंगानाका अनुसार ज्येष्ठ नागरिकमा विशेष गरी ३ प्रकारका समस्या देखा पर्ने गरेको छ । डिप्रेशन, डिमेन्सिया र एनजाइटी ज्येष्ठ नागरिकमा देखिने मूल समस्या हुन् । मानसिक रोगका डाक्टरकहाँ सिधै नआउने अन्य ओपीडीबाट रिफर भएर आउने गरेका छन्, बिरामी । प्रायः आफूले गर्दै आएको काममा अर्काको भर पर्नुपर्ने, सानै समस्यामा पनि मर्छु जस्तै लाग्ने, आफैंभित्र डराउने, मानसिक छटपटी हुने, एक्लो महसुस हुने जस्ता समस्या अधिकांश ज्येष्ठ नागरिककमा देखा पर्ने गरेका डाक्टर ढुंगानाको भनाइ छ ।

समयमै मानसिक समस्याको पहिचान हुन नसक्दा रोगको अन्तिम अवस्थामा अस्पताल पुुग्ने गरेका छन्, ज्येष्ठ नागरिक । ज्येष्ठ नागरिकमा आएको परिवर्तनलाई परिवारले समयमै बुुझ्न नसक्दा मानसिक समस्या भोग्न बाध्य छन्, उनीहरु ।

अचेल परिवारको व्यस्तताका कारण अधिकांश जेष्ठ नागरिक एक्लै छन् । मानसिक रुपमा स्वस्थ राख्न परिवारले समय दिनुपर्ने डा. ढुुंगानाको सुझाव छ । उहाँहरुसँग कुराकानी गर्ने, उमेरमा गर्दै आएका कामहरु गर्न सहयोग गरिदिने गर्नाले मानसिक समस्या कम हुने उनको भनाइ छ ।

जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा कार्यक्रम

संघीय सरकारले बागमती प्रदेशका ७ वटा अस्पतालमा सरकारले जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । हेटांैडा अस्पातल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयुर्वेद शिक्षण अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुुुुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रम लागूू भएका अस्पतालको भवन ज्येष्ठ नागरिकमैत्री हुन आवश्यक छ । अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन, ज्येष्ठ नागरिक विशषज्ञ डाक्टर, ज्येष्ठ नागरिकमैत्री वार्डको व्यवस्था हुनपर्ने भनिएको छ ।

संविधानले मौलिक हकमै ज्येष्ठ नागरिकलाई विशेष संरक्षित वर्गमा राखेको छ । उनीहरुका हक अधिकार सुनिश्चित गर्न वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा लिन सहज होस् भनेर ज्येष्ठ नागरिक कार्ड वितरण गरेपनि त्यो कार्ड कार्ड मै सिमित छ । सबैको कार्ड छ, सबै समान् हुन् भन्ने जस्ता अस्पतालका कर्मचारीको शब्दले झन् आजित छन् ज्येष्ठ नागरिक ।

ज्येष्ठ नागरिकको अवस्था के छ ? उनीहरु समाजमा कसरी बसिरहेका छन् ? घरपरिवारमा कस्तो वातावरण छ, उनीहरुका लागि छ ? मानसिक रुपमा उनीहरुमाथि के बितिरहेको छ ? जस्ता कुरामा कुनै निकायको ध्यान गएको देखिदैन । जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गर्नु बाहेक खासै उपलब्धि देखिएको छैन भने, सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई विशेष सहुलियत भनिए पनि त्यो नपाएको गुनासो व्याप्त छ ।

आँगनको सरकारले सुनेन

स्थानीय सरकार आएपछि वृद्धवृद्धा उत्साही थिए, आफ्ना समस्याको निदान दैलोको सरकारले गर्छ भनेर । तर, तिनले समेत पीडा सुनेनन् । केही थान सम्मानका कार्यक्रम बाहेक स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि काम गर्न सकेन ।
उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि रु. ४ लाख बजेट छुट्याएको महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले बताए । यसको जिम्मा ज्येष्ठ नागरिक मञ्च मकवानपुरलाई दिइएको छ । स्वीकृत कार्यक्रम अनुसार नै सम्मान गर्न लागिएको उनले जानकारी दिए । साकोटाका अनुसार उपमहानगरपालिका भित्रका २, ४, ८ र १८ नम्बर वडामा ज्येष्ठ नागरिकका लागि आश्रयस्थल बनाइएको छ ।
आफ्नो ५ वर्षे कार्यकालमा ज्येष्ठ नागरिकका लागि ठोस उपलब्धि हुने कार्य गर्न नसकेको स्वीकार गर्छन्, बागमती गाउँपालिकाका निर्वतमान अध्यक्ष सर्केश घलान ।
ज्येष्ठ नागरिकको अवस्था हेरेर २५ हजारसम्म उपचारमा गाउँपालिकाले सहयोग गरेको घलानले बताए । उनले भने, ‘ज्येष्ठ नागरिक अनुवभ हो । उहाँको हिजोको लगानी लै आजको हाम्रो प्रतिफल हो ।’
ज्येष्ठ नागरिकका लागि आफूले अझै काम गर्न बाँकी रहेको घलान बताउँछन् । पछिल्लो समय राजनीतिक दलको घोषणापत्रलाई हेर्ने हो भने पनि ज्येष्ठ नागरिकको उपचारमा केही दलले आफ्नो प्रतिबद्धता जनाएका छन् ।

सरकारबाटै हेंला

सरकारले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र सञ्चालन गर्नु पर्ने बताउँछन्, ७४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ । उनी सरकारले वृद्धाश्रममा लगानी गर्नुभन्दा उनीहरुको ज्ञान सीपलाई सही सदुपयोग गर्नुपर्ने र परिवारका सदस्यहरुलाई नै स्थानीय स्तरमा ज्येष्ठ नागरिकलाई गर्नुपर्ने व्यवहारबारे सचेतना फैलाउनु पर्ने बताउँछन् । क्षमता भएका ज्येष्ठ नागरिकका लागि आरक्षणको व्यवस्था गरेर सरकारले सक्दो रोजगारीको अवसर दिनुपर्ने उनको तर्क छ ।

ज्येष्ठ नागरिक भन्ने वित्तिकै शारीरिक र मानसिक रुपमा गलेको हुन्छ भन्ने आम धारणा र सरकारको सोंच गलत हो भन्छन्, उनी । वृद्धाश्रमलाई प्राथमिकता दिनुको कारण के हो ?, उनी प्रश्न गर्छन् । उनले सरकारलाई फेरि प्रश्न गर्दै भने, ‘मेरै कमाइले मेरा छोराछोरी अमेरिका लगायतका देश पुगेका छन् । यहाँ बाबुआमाका लागि किन वृद्धाश्रम ? ।’

आमाबाबुले छोराछोरीलाई अंश दिनै पर्छ भने छोराछोरीले पनि आफ्नो बुबाआमाको लागि अंश दिने कानूनको आवश्यकता देखिएको बताउँछन्, कृष्ण बहादुर । एउटा आमाबाबुले ८–९ जना छोराछोरी पनि हाँसीहाँसी दुःख खपेर हुर्काउँछन् । तर, त्यत्रा विधि छोराछोरीले आफ्ना आमाबाबुलाई पाल्न किन नसक्ने ?, उनले फेरि प्रश्न गरे । कृष्ण बहादुर सरकारले पनि वृद्धाश्रमलाई प्रोत्साहन गर्न आवश्यक छैन, भन्छन् ।

वृद्धाश्रम खोल्नुको साटो वृद्धवृद्धाका लागि पढ्ने स्थान, बसेर गफ गर्ने ठाउँ, भजनकिर्तन गर्ने ठाउँको प्रबन्ध हुनुपर्नेमा कृष्ण बहादुरको जोड छ ।
ज्येष्ठ नागरिकका अनुभव र सीपको कदर गर्दै शारीरिक परिश्रम नपर्ने तथा इच्छाइएको काममा लगाव दिने व्यवस्था गर्न आवश्यक छ । बत्ती कात्ने, टपरी बुन्ने, चकटी, गुन्द्री, सुकुल बनाउने, डोको बुन्ने जस्ता सीपमा सरकारले लगानी गरेर वृद्धवृद्धालाई काममा लगाउने वातावरण भए धेरै समस्याहरु समाधान हुने थिए ।

ज्येष्ठ नागरिकबारे ऐनमा के छ व्यवस्था ?

नेपालको संविधान २०७२ भाग–३ धारा ४१ मा ज्येष्ठ नागरिकको हकमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’भनी उल्लेख छ । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ को ‘त’ मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारभित्र पर्छ । नेपालको पछिल्लो जनगणना अनुसार कुल जनसंख्याको ८ प्रतिशत ज्येष्ठ नागरिक छन् । २०६८ को जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या प्रतिशत ७ थियो । सन् २०३१ मा यो संख्या ११ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।

अहिले ६० वर्षमाथिका दलित र महिला ज्येष्ठ नागरिकलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ, सरकारले । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक ४ हजारका दरले भत्ता वितरण भइरहेको छ । सार्वजनिक सवारीमा ५० प्रतिशत भाडा छुटको व्यवस्था छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई एक लाख सम्मको स्वास्थ्य बीमा भनिएको छ । अहिलेसम्मको तथ्याङ्क हेर्दा मकवानपुरमा ६ हजार ६ सय ५९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

जिल्ला जिल्लामा ज्येष्ठ नागरिक मञ्च गठन भएका छन् भने ज्येष्ठ नागरिकको हेरचाह एवं दिवा केन्द्र सञ्ञ्चालनको व्यवस्था छ ।
ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरले वडा वडामा आफ्ना कार्यक्रम बिस्तार गर्नको लागि ज्येष्ठ नागरिक जिल्ला मञ्च गठन गरेको छ । हालसम्म हेटौंडा उपमहानगरपालिकाका ११ वटा वडामा ज्येष्ठ नागरिक मञ्च गठन भएको छ ।

नेपाल सरकारले कानूनमा व्यवस्था गरेका कुराहरु लागु गर्न नसकेको ज्येष्ठ नागरिक मञ्ञ्च मकवानपुरका अध्यक्ष हरि सिग्देल बताउँछन् । ज्येष्ठ नागरिकका समस्या पहिचानका लागि मञ्च गठन गरिएको हो । नारा धेरै बनाइए पनि यथार्थमा ज्येष्ठ नागरिकको लागि स्थानीय सरकारले काम गर्न नसकेको सिग्देलले बताउँछन् । प्रदेश सरकारले हरेक स्थानीय तहलाई ज्येष्ठ नागरिक लागि भने ३ लाख को बजेट छुट्याएको भने पनि त्यसको कार्यान्वयन सिथिल छ ।

अपराधमा ज्येष्ठ नागरिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको विवरण अनुसार पछिल्लो समय ज्येष्ठ नागरिक विभिन्न अपराधमा संलग्न भएको देखिन्छ । विगत ३ वर्षको तथ्यांक अनुसार विभिन्न कसुरमा १८ जना ज्येष्ठ नागरिक कैद भुक्तान गरिरहेका छन् ।
जबरजस्ती करणी, हत्या, लागूऔषध, अभद्र व्यवहार लगायका अपराधमा ज्येष्ठ नागरिक संलग्न भएको देखिन्छ । प्रहरीका अनुसार बयोवृद्ध उमेरमा पारिपारिक हेरचाह नपुगेका कारण कयौं व्यक्ति विभिन्न खाले तनावका कारण पनि अपराधमा तानिएका छन् ।
अन्तमा, जहँ अग्रजको सम्मान हुन्छ,। त्यहाँ समाज पनि समुन्नत हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हामी हाम्रै परिवारबाट उनीहरुको लागि पनि सोच्ने कि ?