२०८० चैत्र १५, बिहीबार    

उद्योग पाठशाला खोल्न मुख्यमन्त्री पाण्डेको सुझाव

२०७९ जेठ २०, शुक्रबार १५:५१ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र काममा लगाउन उद्योगीहरुलाई आग्रह गरे । ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ ।’, उनले चितवन उद्योग बाणिज्य संघलाई उद्योग पाठशाला खोल्न दशलाख रुपैयाँ सहयोग गरिसकेको बताए ।

उनले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘उद्योगहरुले भनेअनुसार नीति नियम हामी दिन्छौं । तपाईंहरु लगान िगर्न आउनुहोस् ।’, उनले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए ।
उनले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन जरुरी रहेको औंल्याएका थिए । मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।

‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ ।’, उनले भने,‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’ उनले हेटौंडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको समेत बताए ।