२०८१ बैशाख १५, शनिबार    

‘आलोचनाको घेरा’मा प्रदेशले घोषणा गरेको विभूषण

२०७९ जेठ १६, सोमबार १८:५३ बजे

पर्याप्त अध्ययनविनै प्रदेश सरकार प्रदान गर्ने विभूषण घोषणा गरेपछि त्यसको चौतर्फीरुपमा आलोचना भएको छ ।

प्रदेश सरकारले गणतन्त्र दिवसको सन्दर्भ पारेर केन्द्रीय सरकारको सिको गर्दै विभूषण घोषणा गरेको थियो । प्रदेशले विभिन्न क्षेत्रका व्यक्तित्व र संघसंस्थालाई विभूषित गर्ने घोषणा गरेपनि पर्याप्त अध्ययन विनै पहुँचको आधारमा निष्पक्ष र फितलो भएकोभन्दै आलोचना भएको हो ।

प्रदेश सरकारले मकवानपुर जिल्ला आसापासका व्यक्ति र संस्थालाई मात्रै मध्यनजर गरी विभूषण घोषणा गरेपछि पहिलो पटक नै सरकारको निर्णय विवादित भएको हो । प्रदेशको कामप्रति व्यंग्य गर्दै नेपाली कांग्रेसका सांसद न्हुच्छेनारायण श्रेष्ठले प्रदेश सरकारलाई सधैं ‘जिल्ला विकास समितिको दाइ’ भनेर सम्बोधन गर्ने गरेका थिए । अहिले सोही तथ्य प्रमाणित समेत भएको छ ।

प्रदेश सरकारले केही विशिष्टबाहेक अन्य व्यक्तिलाई पहुँचको आधारमा विभूषण गर्न खोजेकोभन्दै टिका टिप्पणी भइरहेको छ । केही व्यक्ति र संस्थाबाहेक अधिकांशलाई प्रदेशले पहँुचको आधारमा विभूषित गर्न लागिएको आरोप सांसदहरुले समेत लगाएका छन् ।

प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा ७ वटा संस्थालाई विभिन्न सम्मान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ । डा. रुइतलाई प्रदेश परोपकार सम्मानबाट सम्मान गर्न लागिएको छ भने डा. महावीर पुनलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम, बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, मकवानपुरकै इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिने भएको छ । मकवानपुरका सञ्चारकर्मी प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान, मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्रदान गरिने भएको छ ।

संस्थागतरुपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रालि र मकवानपुरको सिमलथली एग्रो फार्म/बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।