२०८१ बैशाख १४, शुक्रबार    

फुटबल संघमा लामाको प्यानलै विजयी

२०७९ बैशाख १०, शनिबार १७:२२ बजे

मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् ।

शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा अरुण बल (२३ मत), युवराज लामा (२१ मत) र अजय मानन्धर (१८ मत) विजयी भए । उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे । फुटबल संघको कार्यसमिति सदस्यमा

विकेशलाल श्रेष्ठ (२५ मत), आशिष थापा (२५ मत), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४ मत), पुष्पराज पुडासैनी (२३ मत), सचिन्द्र लामा (२३ मत), सचिन राई (२३ मत), दिनेश चौलागाई (२३ मत), कृष्ण केसी (२० मत) र नवराज तिमल्सिना (१९ मत) विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

अध्यक्ष पदमा विजयी भएका टीकाराम लामाले सबैलाई समेट्दै संस्थागत हित एवम् फुटबलको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । ‘यो चुनावको परिणाम मेरो पक्षमा आएपनि म सबैलाई समेट्दै जिल्लामा फुटबल खेलको विकासमा लागिपर्ने छु’, उनले भने, ‘चुनावी कुरालाई यहिँ बिर्सेर सबैलाई समेट्दै अघि बढ्नेछु ।’ मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको सहीद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने उनको भनाई थियो ।