२०८१ बैशाख ३१, सोमबार    

मकवानपुरमा थपिए १७ जना नयाँ कुष्ठरोगी

२०७८ माघ १६, आईतबार १८:०२ बजे

हेटौंडा/ वाग्मती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा १७ जना नयाँ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको छ महिनामा १७ कुष्ठरोगी थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १० जना पुरुष र ७ जना महिलामा कुष्ठरोग देखिएको हो । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिमा ७ जना कुष्ठरोगी रहेका छन् । मनहरी र बकैया गाउँपालिकामा तीन–तीन जना कुष्ठरोगी रहेको तथ्यांकले देखाएको छ । कैलाशमा २ जना, वाग्मती र भीमफेदी गाउँपालिकामा एक–एक जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग फोकल पर्सन ठाकुर पौडेलका अनुसार मकवानपुर जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । उनका अनुसार प्रतिदश हजार जनामा १ भन्दा कममा कुष्ठरोग देखिए निवारणको अवस्था मानिन्छ । हालको तथ्यांक अनुसार जिल्लामा प्रकोप दर ०.३७ रहेको छ । गत आवमा जिल्लामा १९ जना कुष्ठरोगी रहेका थिए ।

कुष्ठरोग लागेका विरामीहरुले नियमित एक वर्षसम्म औषधी खानपर्ने हुन्छ । आइतबार ‘शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्म सम्मानका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ ६९ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिएको छ ।