२०८१ श्रावण १२, शनिबार    

निजी विद्यालयहरूको आन्दोलन स्थगित

२०८० श्रावण २६, शुक्रबार १५:२९ बजे

शिक्षा विधेयकको विरोधमा उत्रिएका निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका हुन् ।

उक्त विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । विद्यालय सञ्चालकहरूसँग शुक्रबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राई लगायतले वार्ता गरेका थिए ।

शुक्रबार सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन रोकिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, एन प्याब्सन र हिसान लगायतको आन्दोलन स्थगित भएसँगै अब आइतबारदेखि शैक्षिक संस्थाहरूमा पठनपाठन नियमित रुपमा हुने बताइएको छ ।