२०८१ बैशाख ३०, आईतबार    

अघिल्लो परिणामको आँकलन गर्दै गठबन्धनको जित्ने दाबी

२०७९ बैशाख १५, बिहीबार १४:१५ बजे

२०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा नेपाली काँग्रेस र माओवादी केन्द्र बीच गठबन्धन भएको थियो ।

नेकपा एमाले र राप्रपा एक्ला–एक्लै निर्वाचनमा होमिएका थिए । काँग्रेस र माओवादीको गठबन्धनलाई पाखा लगाउँदै एमालेबाट प्रमुख र उप्रमुख विजयी भए । प्रमुखमा हरिबहादुर महतले काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ६ सय १५ मतान्तरले पराजित गरे । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५ सय ९ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी मिनाकुमारी लामाले २३ हजार ४ सय ३७ र माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत ल्याएका थिए । प्रमुखमा पराजुलीले पाएको मतमा ७ हजार ४ सय र उपप्रमुखमा बलले पाएको मतमा करिब ९ हजार मत बदर भएको थियो ।

यस पटक लामा गठबन्धनको उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीबाट प्रमुखको उम्मेदवार बनेकी छन् । काँग्रेसबाट राजेश बानियाँ उपप्रमुखको उम्मेदवार छन् । गठबन्धनले अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी मात्र मिलेको अवस्थामा झिनो मतान्तरले पराजित भएको र धेरै मत बदर भएका कारण पराजित भएपनि यसपटक चार दलबीच गठबन्धन भएको अवस्थामा करिब १० हजार मतान्तरले प्रमुख, उपप्रमुखमा विजयी हुने दाबी गरिरहेको छ ।