२०८१ जेठ ६, आईतबार    

जनता मावि प्रकरण : ३ शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप

२०७८ चैत्र २२, मंगलबार १६:४६ बजे

वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका ३ शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेकोभन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ ।

विद्यालयको कक्षा ४ देखी ८ सम्म अध्ययनरत् छात्राहरुले शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका हुन् । आफूहरुलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए ।

निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोठफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज राईले जानकारी दिए । ‘स्थानीय राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं । छलफलको क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरुले तोडफोड गर्दै तालाबन्दी समेत गरेका छन् ।’ उनले भने ।

विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार शिक्षकहरु विदामा रहेका कारण पक्राउ गर्न सकिएको छैन । ‘विद्यालयमा छलफल भएका कारण शिक्षकहरु विदामा बसेको हुनसक्छ । हामी अध्ययन गर्दैछौं ।’, उनले भने । तीनै जना शिक्षक सोही वडाका बासिन्दा समेत हुन् ।

मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए ।
‘घटनास्थलमा प्रहरी छ । यस विषयमा सोधपुछ भइरहेको छ । शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौं ।’, प्रहरी प्रमुख गुरुङका अनुसार पटकपटक दुव्र्यवहार गरेको आरोप छात्राहरुले लगाएका छन् । ‘२÷३ दिन अगाडिको घटना रहेछ । जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ ।’, उनले भने ।