२०८१ जेठ ८, मंगलबार    

कमल थापाप्रति इन्द्र बानियाँको कटाक्ष : स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन

२०७८ माघ २५, मंगलबार १३:०७ बजे

हेटौंडा/ नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले नयाँ दल खोल्ने तयारीमा रहेका राप्रपाका पूर्वकेन्द्रीय अध्यक्ष कमल थापाप्रति कटाक्ष गरेका छन् ।

राप्रपाको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बालाई कांग्रेसमा प्रवेश गराउँदै बानियाँले थापाको राजनीति भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन् । थापालाई नयाँ दल खोल्ने तयारीस्वरुप आफ्नै गृह नगरमा रहेका बेला इन्द्रबहादुर बानियाँले भने,‘आफू केन्द्रीत राजनीति गर्ने, म भए हुने नभए नहुने भन्ने स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन ।’ उनले पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएसँगै थापा अनावश्यक टिकाटिप्पणी गर्दै मानसिकत सन्तुलन नै अप्ठेरोमा पारेर हिँडिरहेको आरोप समेत लगाए ।

‘जात र धर्मको नाममा गरिने राजनीतिको अब भविष्य छैन ।’, उनले मानवतालाई केन्द्रविन्दु बनाएर राजनीति गर्न थापालाई सुझाए । ‘हामी जात र धर्म हेर्दैनौं । हामी मानवताको राजनीति गर्दै अगाडि बढ्छौं ।’, उनले भने ।

लक्ष्मीसँगै राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिनालगायत करिब ६० जना राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।