२०८१ बैशाख ६, बिहीबार    

गाउँपालिकाद्वारा ५ वटा क्रसर उद्योगमा तालाबन्दी

२०७९ असार २५, शनिबार १८:०१ बजे

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थको राजश्व दाखिला नगर्ने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरेको छ । लामो समयदेखि ताकेतदा गर्दा पनि वेवास्ता गरेपछि गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको नेतृत्वमा वडा अध्यक्षसहितको समूहले क्रसर उद्योगमा तालाबन्दी गरेको हो ।

गाउँपालिकाले राजश्व संकलन गर्न लामो समयदेखि ताकेता गर्दा पनि क्रसर व्यवसायीले अटेर गर्दै आइरहेका थिए । ५ वटा क्रसर उद्योगले गाउापालिकालाई १ करोड ५४ लाख रुपैयाँ राजश्व दाखिला गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । मकवानपुरगढी–५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख रुपैयाँ, आधुनिक क्रसर उद्योगले २३ लाख रुपैयाँ, आमभञ्ज्याङ एग्रिगेटले २८ लाख रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी रहेको छ ।

गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक तथा ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाईंका अनुसार मकवानपुरगढी–२ स्थित नमुना बालुका उद्योगले ३० लाख रुपैयाँ र मकवानपुरगढी–६ स्थित सामरी खोला बालुवा उद्योगले ४५ लाख रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी छ ।

गाउँपालिकाले असार १५ गतेसम्ममा राजश्व भुक्तानी गर्ने लिखित सहमति पनि पालना नभएपछि तालाबन्दी गर्न बाध्य भएको वडा अध्यक्ष बजगाईले बताए । ‘ताकेता र म्याद हामीले दिएका थियौं । लिखित सहमति नै पालना नभएपछि बाध्य भएर तालाबन्दी गरेका हौं ।’,उनले भने ।