२०८१ बैशाख २१, शुक्रबार    

मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा पदबाट राजीनामा

२०७९ पौष ८, शुक्रबार १५:४० बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

विहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना थियो । शुक्रबार कानुनविद् र प्रदेश प्रमुख यादबचन्द्र शर्मासँग लामो समयको छलफलपश्चात् उनले राजीनामा दिएका हुन् ।

उनले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएका थिए । पार्टीको आन्तरिक छलफलको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने बताएपनि कानुन बाध्यता नभएपछि अलमलमा परेका थिए ।

पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकिकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । ‘संविधानअनुसार मैले राजीनामा दिनुपर्ने अवस्था थिएन । तर, मैले प्रदेशसभा सदस्यको शपथ र सरकार निर्माणका लागि आवश्यक वातावरण तयार गरेर यस्तो निर्णयमा पुगेको हुँ ।’, उनले भने ।

मुख्यमन्त्री पाण्डे नेकपा (एस) को संघीय सदनको उपनेता समेत हुन् ।