२०८१ बैशाख ६, बिहीबार    

एकीकृत समाजवादीमा बिचलन आयो : नेता बानियाँ

२०७९ असार २६, आईतबार १४:१३ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति एवं संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि पूर्वसहमति कार्यान्वयन गर्न नेकपा एकीकृत समाजवादीमा बिचलनले गतिरोधी भएको बताएका छन् ।

'समाजवादी विगतको समझदारी प्रति इमानदार देखिएन, ' बानियाँले भने – सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न सरकारको नेतृत्व कांग्रेसलाई दिन ढिला भइसक्यो ।

रामेछापको मन्थलीमा आइतबार पत्रकार भेटघाटमा उनले गठबन्धनको नेतृत्व परिवर्तनका लागि पनि संसदमा दस्तखत बुझाउनुपर्ने र मुख्यमन्त्रीको राजीनामा साथै लैजाने गरी मुख्यमन्त्रीसँग छलफल गराएर नै दस्तखत अभियान चलाइएको विषयलाई तोडमोड गरेर प्रचार थालेकोमा दुखेसो गरे । गठबन्धनमा माओवादी केन्द्र इमान्दार रहेको समेत उनले बताए ।

पूर्वसहमति अनुसार सरकारको नेतृत्व स्थानीय तहको निर्वाचन सकिनासाथ फेर्नुपर्नेमा बजेटका कारण केही समय छोडिएको उनले बताए ।

पार्टीलाई स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता आएको बताउँदै उनले आउने निर्वाचनमा समेत पार्टीलाई अब्बल अवस्थामा राख्न सबै कार्यकर्ताहरुले एकता भएर काम गर्नुपर्नेमा जोड दिए । पार्टीले अबको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई जोड दिने भएकाले त्यसलाई सिरोपर गरेर गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउनु पर्ने तथा गठबन्धन भएन भने पनि कांग्रेसलाई एक्लै विजय गराउनका लागि सक्षम बनाउन कार्यकर्ता परिचालन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रमका लागि उनी रामेछाप पुगेका हुन् । उनले गोकुलगंगा गाउँपालिकामा निर्माण हुने मुख्य भवनको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ ।