२०८१ बैशाख १३, बिहीबार    

८ वर्षदेखि भलिबल प्रशिक्षण सेन्टर अलपत्र

२०७९ आश्विन १७, सोमबार ०७:५७ बजे

बजेट अभावमा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा निर्माणधीन भलिबल प्रशिक्षण सेन्टरको निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ । प्रदेश र संघीय सरकारले आवश्यक बजेट विनियोजन नगर्दा आठ वर्षअघि निर्माण सुरु भएको बहुउद्देश्यीय भलिबल कोर्टले हालसम्म पूर्णता पाएको छैन ।

करिब साढे दुई कट्ठा क्षेत्रफलमा फैलिएको प्रशिक्षण सेन्टर हालसम्म जालीले घेर्ने र दर्शक बस्न सिमेन्टको प्यारापिटको केही अंश निर्माण भएको छ ।

जिल्ला भलिबल संघले स्थानीय तहमा जनप्रतिनिधि आएसँगै हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ सहयोगमा निर्माण कार्य सुरु गरेको हो । हालसम्म प्रशिक्षण सेन्टर निर्माण गर्न करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले तीन लाख, तत्कालीन जिल्ला विकास समितिले ५ लाख र भलिबल संघले दुई लाख रुपैयाँ बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चेका छन् ।

पछिल्लो समयमा जिल्लामा भलिबल प्रतियोगिताको बाढी नै आएपछि संघले प्रशिक्षण सेन्टर निर्माणलाई तीव्र पार्न लबिइङ गरिरहेको छ । ‘हामीलाई चालु आर्थिक वर्षमा पनि उपमहानगरबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्रदेश र संघीय सरकारले बेवास्ता गर्दा हामीले चाहेर पनि छिट्टै यो योजना पूर्ण गर्न सक्दैनौं,’ संघका अध्यक्ष वसन्तकुमार सिटौलाले भने ।

प्रशिक्षण सेन्टरलाई इन्डोर वा आउटडोर कुन रूपमा विकसित गर्ने अझै टुंगो लागिसकेको छैन । इन्डोर बनाउनका लागि अझै करिब एक करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आउटडोरका लागि ५० लाख रुपैयाँ भए पुग्ने अध्यक्ष सिटौलाले बताए । ‘अन्य स्थानीय तहसँग पनि हामीले बजेट मागेका छौं । तर, सकारात्मक प्रतिक्रिया पाएका छैनौं,’ अध्यक्ष सिटौला प्रदेश र संघीय सरकारको बजेटमा यस योजना समावेश गर्न सकेको खण्डमा सहजै छिट्टै निर्माण सम्पन्न हुने बताउँछन् ।

प्रशिक्षण सेन्टरमा करिब ३ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘तत्काल हाम्रो उद्देश्य १५ सय दर्शक अट्ने क्षमताको प्यारापिटसहित दुइटा कोर्ट, एउटा चेन्जिङ रुम र मञ्च निर्माण गर्ने हो,’ उनले प्रशिक्षण केन्द्र नहुँदा खेलाडी उत्पादनमा असर परेको बताए ।

‘नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्न नसक्दा हाम्रो जिल्लाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन भइरहेका छैनन् । खेलाडी उत्पादन गर्न भए पनि हामीलाई प्रशिक्षण सेन्टर आवश्यक छ,’ उनले संघले खेलाडी, रेफ्री र प्रशिक्षक सँगसँगै उत्पादन गर्ने तयारी गरिरहेको दाबी गरे । ‘हामी अब रेफ्री र प्रशिक्षकको तालिम सञ्चालन गर्छौं । स्थानीय तहसँग समन्वय गरेर मासिक तलब नै दिएर प्रशिक्षक व्यवस्था गर्नेछौं । यसको तयारी अन्तिम चरणमा पुगिसकेको छ,’ सिटौलाले प्रशिक्षक नियुक्त भएसँगै जिल्लाको दसवटै स्थानीय तहमा प्रशिक्षणको व्यवस्था मिलाइने बताए ।

पछिल्लो समय स्थानीय तहमा समेत भलिबल संघ गठन भइरहेका छन् । जसका कारण पनि प्रतियोगिताको संख्या बर्सेनि बढिरहेको छ । दसैंको अवसर पारेर जिल्लाभर असोज महिनामा मात्र १५ भलिबल प्रतियोगिता सञ्चालन भएको संघले जनाएको छ । सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा अगाडि बढाएसँगै यसप्रति युवापुस्ताको क्रेज बढेको पाइन्छ ।

प्रशिक्षण सेन्टर नहुँदा नियमित प्रशिक्षणमा समस्या भइरहेको भलिबलका पूर्वराष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठले बताए । ‘१२ महिना प्रशिक्षण गर्न इन्डोर हल आवश्यक पर्छ । यस प्रशिक्षण सेन्टरलाई सोहीअनुरुप विकास गर्नुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ,’ उनले महिला र पुरुष भलिबल टोलीलाई नियमित रूपमा प्रशिक्षण व्यवस्था मिलाउन दुइटा कोर्ट आवश्यक रहेको बताए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले भलिबल प्रशिक्षण केन्द्रको स्तरोन्नति गर्न लामो समयदेखि प्रयत्न गरेको दाबी गरे । ‘हाम्रो समितिमा पूर्वाधार निर्माण गर्न खासै धेरै बजेट हुँदैन । हामीलाई माथिल्लो निकाय राष्ट्रिय खेलकुद परिषद् र संघीय सरकारमा आवश्यक बजेट विनियोजन गर्न पटक–पटक सिफारिस गरेकै थियौं,’ उनले भने ।

धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको यस हुप्रचौरमा रहेको क्रिकेट र फुटबल मैदानको कथा पनि भलिबल प्रशिक्षण केन्द्रकै जस्तो छ ।