२०८१ श्रावण ९, बुधबार    

हेटौंडा–८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदै

२०८१ असार २४, सोमबार १४:५१ बजे

हेटौंडा–८, कमानेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै असार २९ गते यस वडालाई बालमैत्री स्थानीय शासनयुत्त वडा घोषणा गर्ने तयारी गरिएको हो ।

वडा कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस कार्यका लागि वडाअध्यक्ष राम थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जनाएको छ । समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले १९ वटा टोल विकास संस्थामा २१ वटा बाल समूह निर्माण गरी वर्षभरी विभिन्न कार्यक्रम गरी घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेका थिए ।

हरेक समूहमा २५ जना सदस्य रहने गरी गठन गरिएको बाल समूहले डेढ वर्षदेखि वडालाई बालश्रम र बालविवाहमुक्त बनाउन विभिन्न रचनात्मक क्रियाकलाप गरेका थिए । यस वडामा एकवर्षको अवधिमा १२ जना वालश्रमिक भेटिएको थियो । उनीहरुलाई परिवारमा स्थापित गरिएको छ ।

अभियानका कारण यस वडामा चालु आवमा ३ वटा वालबिबाह रोकिएको छ । वडा तथा टोल विकासले यस अभियानका लागि एकवर्षमा करिब ३१ लाख ७६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।