२०८१ बैशाख १५, शनिबार    

वाग्मती प्रदेशसभामा विनियोजन विधेयक पेश

२०७९ जेठ १३, शुक्रबार १५:४७ बजे

वाग्मती प्रदेश सरकारले प्रदेशसभा वैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेका छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेका हुन् । सरकारले असार १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने दावी मन्त्री जम्मकट्टेलको छ ।

‘करको दायरा बढाउने र खर्च घटाउने नीति प्रदेश सरकारले लिन्छ ।’, मन्त्री जम्मकट्टेलले भने,‘प्रदेशको आर्थिक अवस्थालाई गतिशिल बनाउने योजना हाम्रो छ । संघीयताको मर्म र भावना अनुसार यस पटकको बजेट हामी ल्याउँछौं ।’

कृषि, साना उद्योग र रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन गर्ने दावी गरे । उनले पुँजीगत खर्च असाध्यै कमजोर रहेका कारण त्यसलाई बढाउने गरी बजेट विनियोजन गर्न जरुरी रहेको समेत औंल्याए । चालु आर्थिक वर्षको हालसम्म ३५ प्रतिशतमात्र पँुजीगत खर्च भएको छ ।

विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल शनिबारबाट सुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको शुक्रबारबाट सुरु भएको वर्षे अधिवेशनमा सरकारको तर्फबाट पाँचवटा अध्यादेश पेश भएको छ । अधिवेशनको सुरुवात प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।