२०८१ बैशाख १२, बुधबार    

प्रदेश र प्रतिनिधिसभा पाँचैवर्ष टिकाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

२०७९ चैत्र १०, शुक्रबार १६:०६ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनप्रतिनिधिमूलक संस्था संविधानले तोकिए अनुसार कार्यकाल पूर्णरुपमा पूरा गर्ने वातावरण तयार गर्न जरुरी रहेको औंल्याएका छन् ।

शुक्रबारको प्रदेशसभा वैठकमा विश्वासको मत माग्दै उनले प्रदेश र प्रतिनिधिसभा पाँचैवर्ष टिकाउन जरुरी रहेको औंल्याएका छन् । ‘संविधानले दिएको सीमासम्म कार्यकाल पूरा गर्ने वातावरण हामीले बनाउनुपर्नेछ ।’, उनले भने,‘ कसैको बहुमत नहुँदा पनि मिलिजुली सरकार बनाएर, कम्तिमा पाँचवर्ष संविधान दिएको समय सीमासम्म नेपालको राजनीतिक दलहरुले आफ्नो सुझबुझका साथ स्थिरता देशमा कायम गर्न जरुरी छ ।’ मुख्यमन्त्री जम्कट्टेलले सरकार परिवर्तन भएर मात्र अस्थिरता नहुने बताए ।

‘अस्थिरताको मूल पक्ष भनेको जनप्रपतनिधिको मूलक संस्था समयभन्दा अगाडि विघटन गरेर चुनाव गर्न खोज्नु हो ।’, उनले एमालेप्रति लक्षित गर्दै भने ।

जम्कट्टेललाई कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसदले विश्वासको मत दिने भएका छन् । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा बहुमत पुग्छ । केन्द्रीय सत्ता समीकरणमा भएको परिवर्तनसँगै राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता थियो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेताले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका छन् । एमाले दलका नेता जग्गनाथ थपलिया, राप्रपाका उद्धब थापा र नेमकिपाका सुरेन्द्रराज गोसाईंले मुख्यमन्त्री जम्कट्टेलले मागको विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् । सदनमा एमालेका २७, राप्रपाका १३ र नेमकिपाका ३ मत रहेको छ । तीनवटा दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपनि सहजै बहुमत पुग्ने देखिएको छ ।