२०८१ बैशाख २३, आईतबार    

१४१ दिनपछि वाग्मती प्रदेशसभा बस्दै, कार्यसूची टुंग्याउन सर्वदलीय बैठक जारी

२०८० फाल्गुन १५, मंगलबार १०:४६ बजे

वाग्मती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । गत २२ असोजमा दुईवटा विधेयक पास गरेर स्थगित भएको प्रदेशसभाको बैठक १ सय ४१ दिनपश्चात् बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको खबरदारीपश्चात सरकारले हिउँदे अधिवेशन बोलाएको हो । सरकारले विभिन्न बहाना बनाएपछि विजनेस नहुँदा बैठक राख्न आनाकानी गरिरहेको थियो । सरकारको सिफारिसमा वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन १५ फागुनका लागि आह्वान गरेका थिए ।

यसअघि ८ फागुनमा बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन आह्वान गरेका थिए ।

प्रदेशसभाको यस अधिवेशनको कार्यसूची टुंगो लगाउन अहिले प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकले सदनको बिजनेस, संसदीय समिति गठनलगायतको विषयमा प्याकजमै टुंग्याउने जनाइएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पहलमा सर्वदलीय बैठक बसेको हो । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।