२०८३ बैशाख ५, शनिबार    

बागमती प्रदेशसभा बैठक चैत १९ गते

२०८१ चैत्र १२, मंगलबार १८:५२ बजे

बागमती प्रदेशसभा बैठक चैत १९ गतेका लागि बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक झण्डै २ महिनापछि डाकिएको हो ।

सभामुख भुवनकुमार पाठकले १९ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्‍मा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत माघ २३ मा दुई, २४ मा एक र २६ मा दुई वटा बैठकहरु सञ्चालन भएका थिए । बैठकमा विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान-२०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित प्रतिवेदन पेस हुने कार्यसूची छ ।

संसद् बैठक बोलाइएसँगै शिक्षा, स्वास्थ्य तथा कृषि समिति बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ ।

उद्योग, पर्यटन तथा वातावरण समिति बैठक चैत १७ र १८ गते बस्ने तयारी भएको छ । बैठकले संसदमा पेस हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने प्रदेशसभाले जनाएको छ ।