२०८१ बैशाख ३०, आईतबार    

वाग्मतीमा गठबन्धनको तयारी : ठोस निर्णयमा आनाकानी, छलफलमै सीमित

२०७९ बैशाख ८, बिहीबार १८:०८ बजे

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरु छलफलमै सीमित छन् । वाग्मती प्रदेशको १ सय १९ वटा स्थानीय तहमै गठबन्धन गर्ने गरी अघि बढेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच कार्यदल नै गठन गरेर १५ दिन अघिदेखि निर्वाचन केन्द्रीत छलफल भइरहे पनि अझै ठोक निर्णय हुन सकेको छैन ।

स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको र ३४ दिन मात्र बाँकी रहेको अवस्थामा समेत गठबन्धनका दलहरुबीच भागबन्डामा सहमति नजुट्दा ठोस निर्णय हुन नसकेको हो । बागमतीका सबै स्थानीय तहमा गठबन्धन हुने निश्चित भइसक्दा पनि चार वटै दलले बढी भन्दा बढी सीट संख्यामा दाबी गरिरहेका छन् ।

गठबन्धनका दलहरुबीच बढी संख्याको दाबीमा रस्साकस्सी कायम रहँदा दुई पटकको बैठकबाट भागबन्डा टुंगीन सकेको छैन । ३ महानगर, १ उपमहानगर, ४१ नगर र ७४ गाउँपालिका रहेको बागमतीमा हाल ६७ जना काँगेस, ३१ जना माओवादी केन्द्र र १७ जना नेकपा एसका प्रमुख÷उपप्रमुख जनप्रतिनिधि छन् । जसपाबाट कोहि पनि जनप्रतिनिधि छैन । हाल आफ्ना जनप्रतिनिधि संख्या बराबर स्थानीय तहमा आफ्नो उम्मेदवार हुनुपर्ने गठबन्धनका दलहरुको दाबी छ ।

नेपाली काँग्रेसका बागमती प्रदेश समितिका सभापति तथा इन्द्र बानियाँले ३० चैतभित्र उम्मेदवारको टुंगो लगाउने गरी निरन्तर छलफल भइरहेको बताए । उनले प्रदेशको सबै स्थानीय तहमा गठबन्धन गर्नेबारे निर्णय गरेर अब उम्मेदवार टुंगो लगाउने कसरतमा जुटिरहेको प्रतिक्रिया दिए । ‘११९ वटै स्थानीय तहमा कसरी भागबन्डा गर्नेबारे छलफल भइरहेको छ ।’ उनले भने, ‘२०७४ को निर्वाचनमा प्रमुख÷उपप्रमुख जितेका क्षेत्रमा सोहि कायम रहने गरी अघि बढ्नेबारे प्रारम्भीक छलफल भइसकेको छ, अब सहमति जुटाउनेतर्फ हामी केन्द्रीत छौं ।’ सभापति बानियाँले भने । ३ महानगरको सवालमा केन्द्रमा सुझाव पठाउने, उपमहानगरबारे जिल्ला सभापति, अध्यक्षहरुसँग छलफल गर्ने र नगरपालिका÷गाउँपालिकाबारे सिफारिसका आधारमा अघि बढ्ने उनले बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सफल सहयात्री पौडेलले सैद्धान्तिक प्रारम्भीक छलफलबाहेक केहि अघि बढ्न नसकेको बताए । उनले मत बदर घटाउन चुनाव चिन्हबारे कस्तो निर्णय गर्ने र मत सर्वेक्षणका लागि जिल्ला÷जिल्लाबाट रिपोर्ट बुझ्ने सन्दर्भमा छलफल भएको जानकारी दिए । माओवादी केन्द्रले सीट लिने सवालमा ५० वटा स्थानीय तह जित्ने लक्ष्य राखिएको र ४० वटा जित्ने दाबीका साथ सीट मागिएको छ ।’ उनले भने, ‘छलफलले निर्णय लिने सन्दर्भमा हामी अडिगनै रहन्छौं भन्ने होइन, केहि लचकता अपनाउन सकिन्छ ।’

नेकपा एसकी प्रदेश अध्यक्ष साबित्रा भुसालले सबै जिल्लाबाट दाबी आइरहेकोले टुंगो लगाउन व्यापक छलफल जरुरी रहेको बताइन् । उनले भनिन् ‘शक्तिको आंकलन मुख्य विषय हो, हामीले शक्तिको आंकलन गरेर मात्र उम्मेदवार तय गर्नुपर्छ । नेकपा एसले यत्तिनै सीट चाहिन्छ भन्ने दाबी प्रस्तुत गरेको छैन ।’ जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सोनामसिं स्याङ्तानले पहिलो बैठकमा सबै दलका केन्द्रको निर्देशनबारे प्रारम्भीक छलफल र दोस्रो बैठकमा स्थानीय तह र जिल्लालाई उम्मेदवार छनोटका लागि कति अधिकार दिन सकिनेबारे छलफल भएको र तेस्रो बैठक ४ दिनभित्र बस्ने जानकारी दिए । उनले कार्यदलमा २० वटा स्थानीय तहमा जसपाले दाबी प्रस्तुत गरेको र गठबन्धनको सहमतिबाटै अघि बढ्न अपिल गरेको बताए ।