२०८१ आश्विन २६, शनिबार    

पत्रकार सम्मेलनको नाममा आनन्दको शक्ति प्रदर्शन

२०७८ फाल्गुन १३, शुक्रबार १८:५३ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेको आनन्दराम पराजुलीले शुक्रबार पत्रकार सम्मेलनको नाममा शक्ति प्रदर्शन गरेका छन् ।

उनको पत्रकार सम्मेलन अन्य समयको भन्दा फरक थियो । हेटौंडामा हुने नियमित पत्रकार सम्मेलनमा आयोजक र पत्रकारको मात्र उपस्थिति रहेको हुन्थ्यो । तर, पराजुलीको पत्रकार सम्मेलन हेटौंडाको एभाकोडो होटलमा रहेको सवैभन्दा ठूलो हलमा आयोजना गरिएको थियो । उक्त हल पूर्णरुपमा भरिएको थियो । पत्रकार सम्मेलनमा करिब एकहजार कार्यकर्ताको उपस्थिति थियो । पराजुलीले मन्तव्य र प्रतिबद्धा व्यक्त गर्दा बारम्बार ताली बजिरहन्थ्यो ।

व्यवस्थित मञ्च, पत्रकार र कार्यकर्ताका लागि आवश्यकता अनुसार कुर्सी तथा खाजाको व्यवस्था गरिएको थियो । पत्रकार सम्मेलनको तयारी देखेर हलमा उपस्थित भएका पत्रकार, कांग्रेस नेता तथा कार्यकर्ताले पत्रकार सम्मेलनलाई शक्ति प्रदर्शनको रुपमा व्यख्या गरिरहेका थिए । पराजुली संस्थापन पक्षका उम्मेदवार हुन । उनको पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेलाई प्रमुख अतिथिको रुपमा आसन ग्रहण गराएपनि उनको उपस्थिति भने भएन ।

पराजुलीको पत्रकार सम्मेलनमा विशेष गरी स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको उपस्थिति बढी रहेको थियो । जिल्लाका वडा, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय तहका नेताहको उपस्थिति रहेको थियो ।