२०८३ जेठ १२, मंगलबार    

हेटौंडा जेसीजको सप्ताह मंगलबारबाट सुरु हुँदै

२०८१ कार्तिक ५, सोमबार १७:३६ बजे

हेटौंडा जेसीजको वर्ष सन् २०२४ को जेसीज सप्ताह मंगलबारबाट सुरु हुँदैछ ।

६ देखि ९ गतेसम्म विविध ७ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । जेसीज संस्थाले प्रत्येक वर्ष जेसीज सप्ताहको आयोजना गर्ने गर्दछ । मनकामना अपहिल साइक्लिङ च्यालेञ्ज कार्यक्रमबाट जेसीज सप्ताहको शुभारम्भ हुने हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठले बताए ।

हेटौंडाको सिचाईंटोल देखि मनकामना मन्दिरसम्म हुने अपहिल साइक्लिङ च्यालेञ्जको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबारै दिउँसो जेसीज सचिवालयमा जेसीज सदस्यबीच वक्तृत्वकला प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेतालाई पुरस्कारको व्यवस्था रहेको छ ।

७ गते हेटौंडा १५ चिप्लेटीमा रहेको विद्यालयमा शैक्षिक सामग्री वितरण, ८ गते विहान हुप्रचौरमा रक्तदान, सितलमहल चोकमा विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता र दिउँसो सिआन पुनस्र्थापना केन्द्रमा लागूऔषध दुव्र्यसन सम्बन्धि सचेतनामूलक कार्यक्रम हुनेछ । ९ गते जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिनेछ ।

जेसीज सप्ताह मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष विवेक आनन्द न्यौपाने रहेका छन् भने सह–मूल कार्यक्रम संयोजकमा उपाध्यक्ष आतिष दाहाल रहेका छन् । जेसीज सप्ताह कार्यक्रमका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको बताइएको छ ।