२०८२ बैशाख ११, बिहीबार    

हेटौंडा–७ बालमैत्री वडा घोषणा

२०८१ भाद्र १, शनिबार १६:५३ बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ लाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

विभिन्न सूचक पूरा गरेसँगै उत्तल वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनले बताए ।

उनका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९.७३ प्रतिशतसम्म हासिल गरिएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गणबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिएको थियो ।

बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–७ हेटौंडा नगरमा तेस्रो बालमैत्री वडा भएको छ । यसअघि हेटौंडा–८ र हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।