२०८१ बैशाख २०, बिहीबार    

सिनियर प्रहरी आवास गृह उद्घाटन

२०८० बैशाख २, शनिबार १६:४७ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निर्मित सिनियर प्रहरी आवास गृहको उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोग र विभिन्न दाताहरुको सहयोगमा तीनकोठे भवन निर्माण गरिएको हो । आवास गृह निर्माणमा करिब २४ लाख रुपैयाँ खर्च भएको सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–१०, बसपार्कका अध्यक्ष तथा भवन निर्माण समिति संयोजक प्रदीप कडेँलले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले आवास गृहको संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए । आवास गहृको उद्घाटन गर्दै मेयर लामाले आगामी दिनमा पनि प्रहरीलाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् । प्रहरीलाई जनसेवा प्रबाहमा सहजता हुने गरी सहयोग गरिने मेयर लामाले बताइन् ।

‘हामीले सुशासनको क्षेत्रमा काम गरिरहेका छौं । प्रहरीले सुरक्षाको क्षेत्रमा गरिरहनु भएको छ ।’, मेयर लामाले नगरको विभिन्न स्थानमा प्रहरी भवन निर्माण गर्ने कार्यमा सहयोग गरिएको बताइन् ।

उपमेयर बानियाँले प्रहरी र स्थानीय सरकार समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको औंल्याए । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले स्थानीय तहले जनताका लागि आवश्यक भौतिक विकास गर्ने र प्रहरीले सुरक्षाको प्रत्याभूति दिलाउँदै सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।