२०८१ बैशाख २४, सोमबार    

हस्तकलाको सामग्री बनाएर वित्छ विष्णुकुमारीको दिन

२०७९ श्रावण २०, शुक्रबार १४:३२ बजे

हेटौंडा–५, सानोपोखराकी विष्णुकुमारी राईको दैनिकी हस्तकलाको सामग्री बनाएर वित्ने गरेको छ । सामान्य लेखपढ गर्न जान्ने राई आठ वर्षदेखि हस्तकलाका सामग्री बनाएर आफ्नो जिल्लामा पहिचान बनाउन सफल भएकी छन् ।

अस्मिता नेपाल नामक गैरसरकारी संस्थाले आयोजना गरेको हस्तकला सामग्री बनाउने तालिममा सहभागी भएर सीप सिकेकी उनले अहिले काठमा विभिन्न किसिमका बुट्टा भर्दै हस्ताकलाको सामग्री विक्री वितरण गरिरहेकी छन् । विशेष गरी उनले निर्माण गरेको हस्तकलाका सामग्री काठमाडौं र हेटौंडामा विक्री हुने गरेको छ । उनले आफ्नै पौरखबाट तयार पारेको हस्तकला सामग्री २ सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म विक्री हुने गरेको छ । मासिक कमाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म हुने गरेको उनले बताइन् ।

‘मेरो श्रीमान पनि काठकै काम गर्नुहुन्छ । जसले गर्दा मलाई सजिलो भयो । म पहिल्यैबाट काठमा रंग लगाउने काम गर्थे । तीन महिने बेसिक र ६ महिने एड्भान्स तालिमपश्चात् हस्तकला सामग्री बनाउन सक्ने भए । ।’, उनले भनिन् ।

सुरुमा तीनमहिने तालिम लिएर औपचारिकरुपमा यस पेश अँगालेपनि फिनिसिङमा समस्या भएपछि एडभान्स तालिम लिएको बताइन् । हेटौंडा–५, पिप्लेस्थित पिप्लेपोखरा सामुदायिक वनको भवनमै बसेर उनी दिनभर काठमा बुट्टा कुद्ने काम गर्छिन् । विभिन्न तालिममा सहभागीहुँदा, सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त सामग्रीबाट उनले सवै काम गर्दै आएकी छन् ।

‘पछिल्लो समय हस्तकला सामाग्रीको माग बढिरहेको छ । काठमाडौंबाट धेरै अर्डर भइरहेको छ । पुर्‍याउनै सकिएको छैन ।’, राईले हस्तकलाको सामग्री बनाउन काम गर्ने जनशक्तिको अभाव रहेको बताइन् । ‘दक्ष जनशक्ति नै छैन । मैले पनि प्रशिक्षक भएर धेरै तालिम दिएँ । तर, कामै गरौं भन्ने मान्छे पाइन् ।’, उनले भनिन् । केही मान्छे सिक्नै भनेर आएपनि लामो समय नटिक्ने उनको अनुभव छ ।

‘हस्तकला सामग्रीको माग अत्याधिक रहेको छ । अर्डर अनुसार उपलब्ध गराउन सकिएको छैन ।’, उनले देशभर हुने विभिन्न मेलामा समेत सहभागीहुँदा नयाँ–नयाँ उत्पादन गर्नु आवश्यक रहेको बताइन् । ‘सामग्री बेच्ने मात्र होइन । उत्पादनमा नयाँपन दिन पनि जरुरी छ । त्यसकारण यस पेशा असाध्यै चुनौतीपूर्ण समेत छ ।’, उनले भनिन् ।

यस पेशाबाट भएको आम्दानीले घरमा सहयोग पुगेको छ । ‘श्रीमानको मात्र कमाईले घर चलाउन गाह्रो हुन्थ्यो । अहिले आफ्नो पनि आम्दानी भएपछि सहज भएको छ ।’, उनका दुई छोरामध्ये एउटा नेपाल आर्मीमा जागिरे छन् । एउटा छोरो प्राविधिक पढ्दैछ । ‘परिवारमा सवैको कमाइ भएपछि अहिले हामी आफ्नै घर बनाउन सफल भएका छौं । पहिला डेरामा बस्दै आएका थियौं ।’, उनले आफ्नो विगत सम्झिँदै भनिन् ।

राईले भविष्यमा प्रशिक्षकको रुपमा हस्तकलाको क्षेत्रमा आफ्नो अनुभव बाँड्ने र दक्ष जनशक्ति उत्पादन गर्ने आफ्नो उद्देश्य रहेको बताइन् । ‘राम्रो बुट्टा भरेको सामग्री उत्पादन गर्न सके विदेशमा समेत माग रहेको छ । त्यसकारण मैले सरकारी संस्थामा धाएर तालिमको व्यवस्था गर्न भनिरहेका छौं ।’, उनले भनिन् ।