२०८१ बैशाख २२, शनिबार    

वाग्मतीमा ९८ प्रतिशतले लगाए खोप, प्रधानमन्त्रीद्वारा प्रशंसा

२०७८ फाल्गुन २३, सोमबार ११:४० बजे

हेटौंडा/ वाग्मती प्रदेशमा करिब ९८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९६.८ प्रतिशतले नागरिकले दोस्रो डोजको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्री निमा लामाका अनुसार करिब ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् । १२–१७ उमेर समूहका ५०.१ प्रतिशतले पहिलो मात्रा र २८.६१ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेको मन्त्री लामाले जानकारी दिए ।
मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने आफ्नो प्रमुख लक्ष्य राखेका प्रधानमन्त्री देउवाले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानमा हासिल गरेको उपलव्धीको प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीसंगको भेटमा प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशले खोप अभियानलाई समुदाय तहसम्म पुर्‍याएर प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए ।
उनले प्रदेश स्वास्थ्य मन्त्रालयले अघि बढाएको विपन्न नागरिक र आकस्मिक उपचारमा नि:शुल्क रक्तसंचार सेवा, प्रदेशस्तरीय स्वास्थ्य वीमा संयोजन समिति गठन प्रक्रिया, संघीय खोप अभियान दु्रत कार्य सञ्चालन टोलीसंगको समन्वय, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको कार्यविधि निर्माण, औषधी एवम् उपकरणको उचित मौज्दात व्यवस्थापन एवम् वितरण जस्ता कामको प्रशंसा गरेका छन् ।
भेटवार्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले प्रदेश सरकार जनतालाई राहत र विकास दिने काममा अघि बढेको बताएका थिए । उनले प्रदेश सरकारको सेवा प्रवाहलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान आवश्यक नीतिगत सहजिकरणका लागि संघीय सरकारसंग आग्रह गरेका थिए । स्वास्थ्य मन्त्री लामा र राज्यमन्त्री नेपालीले स्वास्थ्य मन्त्रालयले गरिरहेको नितिगत सुधार, नियमित कार्य, समस्या र समाधानका लागि संघीय सरकारले गर्नुपर्ने सहजिकरणका विषयमा अवगत गराएका थिए ।