२०८१ बैशाख १५, शनिबार    

प्रदेशको ६ जिल्लामा फैलियो बर्डफ्लु

२०७८ चैत्र ९, बुधबार १७:४९ बजे

बर्डफ्लु रोगको संक्रमण वाग्मती प्रदेशमा क्रमश: फैलिन थालेको देखिएको छ ।

हालसम्म वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परिसकेको छ । वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ ।

बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको छ ।