२०८१ बैशाख १६, आईतबार    

बजेटमा मकवानपुरः उद्योग, सडक, विद्युतमा जोड र सुरुङमार्गको अध्ययन गरिने

२०७९ जेठ १६, सोमबार १०:५० बजे

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा मकवानुपरलाई उद्योग, सडक र विद्युतमा समेटेको छ ।

२ दशकदेखि पूर्ण रुपमा बन्द हेटौंडा कपडा उद्योग संचालन गर्ने, पथलैया–हेटौंडा–नारायणगढ सडक फराकिलो बनाउने र लप्सीदेवी–रातमाटे–हेटौंडा प्रशासन लाइनको अध्ययन र भीमफेदी–कुलेखानीमा सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिनेगरी संघीय सरकारले मकवानपुरलाई बजेटमा समेटेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा उद्योग सञ्चालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरु प्रयोगको व्यवस्थासमेत लिइने बताए ।

१८ माघ २०५७ मा सरकारले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उद्योग पूर्ण रुपमा बन्द गरेको थियो । २०५८ मा सरकारले उद्योग निजीकरणको लागि दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो । सरकारले हेटौंडाका लागि नयाँ योजनाका रुपमा लप्सीदेवी–रातमाटे–हेटौंडा प्रशारणको लाइनको अध्ययन अघि बढाउने भएको हो । यसअघि हेटौंडा–ढल्केवर प्रशारण लाइन संचालनमा आइसकेको छ ।

सरकारले पुरानै योजनालाई अघि बढाउँदै कुलेखानी–भीमफेदी सुरुङमार्ग निर्माणका लागि सम्भावना अध्ययन गर्न बजेटमा समेटेको छ । यसअघि बागमती प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि डिपिआरसमेत निर्माण गरिसकेको थियो । तर, सरकार परिवर्तनपछि बर्तमान गठबन्धनको सरकारले सुरुङ मार्गको प्रक्रियानै स्थगित गरेको छ ।

२५ मिटर सडक विस्तारको रुपमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौंडा–नारायणघाट सडक निर्माणका लागि सरकारले बजेटमा समेटेको छ । यसअघि पनि बजेटमा समावेश गरिँदै आएको सडक विस्तार योजना हेटौंडामा मुआब्जा वितरणको विवादका कारण रोकिँदै आएको छ ।