२०८१ बैशाख ११, मंगलबार    

संघको सिको गरी विभूषण वितरण गर्दै वाग्मती सरकार

२०७९ असार २८, मंगलबार १५:३१ बजे

संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ ।

पर्याप्त अध्ययनबिनै पहुँचको आधारमा प्रदेशले विभिन्न क्षेत्रका व्यक्तित्व र संघसंस्थालाई विभूषित गर्ने घोषणा गरिएको भन्दै सरकारको यस निर्णयको सांसदहरुले समेत आलोचना गरेका थिए । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले मकवानपुर जिल्ला आसपासका व्यक्ति र संस्थालाई मात्रै मध्यनजर गरी विभूषण घोषणा गरेपछि पहिलो पटक नै सरकारको निर्णय विवादित भएको थियो । प्रदेश सरकारले केही विशिष्टबाहेक अन्य व्यक्तिलाई पहुँचको आधारमा विभूषण वितरण भएकोभन्दै टिका टिप्पणी भइरहेको हो ।

मन्त्रालयका अनुसार असार ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो । उक्त निर्णयअनुसार व्यक्ति तथा संघसंस्थालाई पदक वितरण गर्न लागिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रशासन तथा योजना शाखाका अधिकृत पेशलकुमार पोखरेलका अनुसार प्रदेशले नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा ७ वटा संस्थालाई विभिन्न सम्मान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ । डा. रुइतलाई प्रदेश परोपकार सम्मानबाट सम्मान गर्न लागिएको छ भने डा. महावीर पुनलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम, बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, मकवानपुरकै इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिने भएको छ । मकवानपुरका सञ्चारकर्मी प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान, मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्रदान गरिने भएको छ ।

संस्थागतरुपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रालि र मकवानपुरको सिमलथली एग्रो फार्म/बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।