२०८१ बैशाख २३, आईतबार    

ड्रागन खेतीमा सफलता प्राप्त गर्दै रुम्बा

२०७९ श्रावण ८, आईतबार १३:१६ बजे

हेटौंडा उपमहानगरपालिका –१३ पदमपोखरीका किसान फेन्चु रुम्बा विगत दुई वर्षदेखि नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै आएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी दंग देखिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायको रूपमा रहेको हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेतीको परीक्षण समेत सफल भएको हो । 

हेटौंडाका मेहनती किसान रुम्बालाई उपमहानगरपालिकाले अनुदानका रुपमा १ लाख सहयोग गरेको थियो । तर , १ लाखले केहि गर्न नपुग्ने भएपछि रुम्बाले थप दुुई करोड कृषि विकास बैंक हेटौंडा शाखाबाट श्रण लिई अन्य आफ्नै व्यक्तिगतगरी करिब ४ करोड लगानीमा खेती शुरु गरेका थिए । अहिले रुम्बाको करिव एक बिघा ९२० कठ्ठा० आफ्नै बारीमा ४ हजार बोट ड्रागन फुडका वोटहरू रहेका छन् ।

रुम्बाको ड्रागन फुडका साथमा अहिले खरबुजा , सयपत्री फुल , तकारी टनेल सँगै बाख्रा , बोकाहरुपनि पालेका छन् । यसको उत्पादनसँगै एकै ठाउँमा सानो वोट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको रुम्बाले बताए ।
मनहरी –१ बालजीवनज्योति माविमा शिक्षक पेशमा रहेका रुम्बाले शिक्षक पेशा छाडेर एमएनएस एग्रो प्रा।लि कृषि फार्म दर्ता गरी ड्रागन फुडको खेती शुरू गरेका हुन् । रुम्बालाई उनकी श्रीमतीले सहयोग गर्ने गरेकी छन् । रम्बालाई शुरूमा ड्रागन फुड उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो ।


तर अहिले बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याई नभ्याई भएको देख्दा भने खुशी लागेको बताए । पहिलो लटमा लगभग ६० हजार रूपैयाँको फल बेचेको र दोस्रो लटमा ५ लाखको फल बेचेको बताउँदै तेस्रो लटको फल पनि बच्ने तयारीमा रहेको बताए । उनका अनुसार फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।


गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फुड बर्षमा चार लटसम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ ।
ड्रागन फुड रोपेको १६ बर्षसम्म उत्पादन लिन सकिन्छ । प्रति केजी ५ सय सम्ममा बिक्री हुने गरेको छ । रुम्बाको बारीको आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।
जग्गामा ड्याङ बनाएर पिलर गाडेर,पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड नौलो फल भएकोले यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू विरूवाको वृद्धि विकास गर्न सकिन्छ ।


एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाईबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको उनले सुनाए ।
ड्रागन फुड खेतीमा सफल भएका रुम्बाले कृषि पेशमा लागेर पनि अन्य व्य

वसायीहरुले जस्तै गाढि चड्नसक्ने आम्दानी गर्नसकिने बताए । उनले खेतीमा राम्रो भविष्य भएको भन्दै रोजगारीका लागि विदेश जाने युवाहरुलाई गाउँमै बसेर खेती गर्नसमेत आग्रह गरे ।
रुम्बाले सो फलको बिरूवा पनि प्रति गोटा २ सय ५० रूपैयाँ सम्ममा बेच्ने गरेका छन् । हेटौंडा–१३ का रुम्बा मात्रै होइन सुरज थिङले पनि यसको व्यावसायिक खेती गरेका छन् । केही व्यक्तिले भने दुईचार बोट मात्रै ड्रागन फुड आफूले घरमा खान तथा सोखको लगा्रएका छन् ।