२०८१ जेठ ७, सोमबार    

विहीबारदेखि दल दर्ता, ११ दिनमात्र प्रचार गर्न पाइने

२०७८ फाल्गुन २, सोमबार ०९:०५ बजे

हेटौंडा/ स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता गर्ने भएको छ । यसअघि दर्ता भइसकेका दलहरूले पनि नयाँ निर्वाचनका लागि दर्ता गर्नुपर्ने हुन्छ ।

आयोगले स्वीकृत गरेको कार्ययोजना अनुसार फागुन ५ देखि १५ सम्म दल दर्ता निवेदन दिनु पर्ने बताइएको छ । आयोगमा हालसम्म १ सय ५ वटा दल दर्ता भइसकेका छन् । र थप दल दर्ताको प्रक्रियामा छन् । निर्वाचनको लागि दल दर्ता गर्नुअघि लेखा परिक्षण प्रतिवेदन अनिवार्य गरिएको छ । आयोगले कुन दिन के काम गर्ने भन्ने कार्य योजना पनि बनाएको छ । निर्वाचन गर्ने दिनसम्मको योजना आयोगले स्वीकृत गरेको हो । दल दर्ता स्वीकृत भने फागुन २६ मा मात्रै हुनेछ । चैत ४ सम्म निर्वाचन कार्यक्रम स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने आयोगको तयारी छ ।

दल दर्तापछि मात्रै आयोगले आचारसंहिता लागू गर्न लागेको छ । आयोगले फागुन २० सम्म निर्वाचन निर्देशिका, कार्यविधि, आचारसंहिता र मापदण्ड बनाउने, दल दर्ता गर्ने, सरकारबाट बजेट लिइसक्ने, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिको लागि नामावली लिइसक्नु कार्यतालिकामा उल्लेख छ । चैत १५ सम्म दल दर्ता स्वीकृत गर्ने, निर्वाचन कार्यक्रम स्वीकृत गर्ने, आचारसंहिता कार्यान्वयन गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण, निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्ने आयोगको योजना छ । वैशाख २० सम्म मतदाता नामावली, परिचयपत्र, मतपत्र समेत छपाइ गरिसक्ने आयोगले जनाएको छ ।

वैशाख २१ सम्म भने मतपत्रसमेत ढुवानी गरिसक्ने कार्यतालिका छ । निर्वाचन प्रचारप्रसारको अवधि वैशाख १७ देखि २७ सम्म ११ दिन मात्रै दिन लागिएको छ । यस अवधिमा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार गर्न पाउने छन् ।