२०८१ बैशाख २१, शुक्रबार    

गर्लान् त बुद्ध लामाले विवाह ?

२०७८ फाल्गुन १७, मंगलबार १४:३७ बजे

हेटौंडा/ नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट जिल्ला सभापतिमा बुद्ध लामा चयन भएका छन् । कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो ।

यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । लामाले सभापति पदमा उम्मेदवारी घोषणा गर्दा उनको विवाहको खुब चर्चा भएको थियो । उनी अझैसम्म अविवाहित छन् । मकवानपुर क्षेत्र नम्बर २ ख का सभापति रञ्जन कालाखेतीले लामाको सभापति घोषण कार्यक्रममा पार्टीको काममा लामो समयदेखि लाग्दै गर्दा विवाह नभएको टिप्पणी गर्दै सभापतिमा विजयी भएको खण्डमा विवाह गर्ने उद्घोष गरेका थिए ।

‘हामीले सभापतिमा बुद्ध दाईलाई जिताउन जरुरी रहेको छ । उहाँले अझैसम्म विवाह गर्नु भएको छैन । मसँग कुराकानी गर्ने क्रममा सभापतिमा विजयी भएपश्चात् विहे गर्छु भन्नु भएको छ । त्यसकारण हामीले उहाँलाई सभापति पनि जिताउने र विवाह गर्ने वातावरण पनि बनाइदिनुपर्छ ।’, कालाखेतीले घोषण सभामा भनेका थिए ।

लामा सभापति भएसँगै अब उनको विवाह हुन्छ वा हुँदैन भन्ने विषय अहिले सवैभन्दा बढी चर्चाको विषय बनेको छ । कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत् सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो । दोस्रो चरणमा लामा र आनन्दराम पराजुलीवीच निर्वाचन हुने तय भएको थियो । यस्तो अवस्थामा पार्टीको केन्ऽीय तहबाट शीर्ष नेताबाट हस्तक्षेप भएपछि लामालाई सभापति पद सुम्पिन पराजुली तय भएका हुन् । उनीहरु दुवै संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।