२०८१ बैशाख १५, शनिबार    

पाँचदलीय गठबन्धनले निरन्तरता पाए एमाले ९ सिटमा खुम्चने

२०७९ श्रावण १३, शुक्रबार ०८:३५ बजे

ढिलो–चाँडो निर्वाचनमा जाँदै गर्दा त्यसको परिणामलाई लिएर आम चासो र लेखाजोखा सुरु भइसकेको छ । दलहरूले गठबन्धन/उपगठबन्धन बनाउने र त्यसबाट आफूले धेरै हिस्सा लिने प्रयास गरिरहेका छन् ।

यस सन्दर्भमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिट संख्यामा कसको हैसियत कस्तो होला भन्ने केलाउने प्रयास गरेको छ । एक्लाएक्लै लड्दा कुन/कति निर्वाचन क्षेत्रमा कुन दल अगाडि देखिन्छन् ? दलहरूबीच जारी गठबन्धन निर्माणका बहुवार्तामध्ये कुन विकल्पले मूर्तता पाउँदा गठबन्धनमा रहने र नरहने दलहरूको हैसियत कस्तो होला ? यस्ता प्रश्न केलाइएको छ ।

यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमा छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । कतिपय वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका कारण त्यहाँका दलको भोट संख्या उपलब्ध छैन । अर्कातिर संघीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना सधैं रहन्छ । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संघीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संघीय निर्वाचनमा, उम्मेदवार (दलीय) को लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्छ । यहाँ दलहरूका वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा आगामी निर्वाचनमा उनीहरू एक्लाएक्लै वा गठबन्धन बनाएर जाँदा ल्याउने सम्भावित चार परिस्थितिको परिणाम केलाइएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लडे भने कांग्रेस ७६ सिटसहित अग्रणी स्थानमा रहने देखिन्छ । एमाले ७१ सिट जितेर दोस्रो बन्न सक्छ । माओवादी ८ सिटमा खुम्चन सक्छ ।

माओवादी केन्द्रका वडाध्यक्षले संघीय निर्वाचन क्षेत्रमध्ये ८ वटामा मात्रै अग्रता कायम गर्ने गरी भोट ल्याएका छन् । जनता समाजवादी पार्टीले ५, लोकतान्त्रिक समाजवादी पार्टीले २ तथा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नवगठित नागरिक उन्मुक्ति पार्टीले १/१ ठाउँमा जित्न सक्ने देखिन्छ ।

एक्लाएक्लै लड्दा निकै कम सिट ल्याउन सक्ने माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी तथा एक्लै लड्दा प्रत्यक्ष चुनाव जित्न गाह्रो भए पनि देशभर प्रभावशाली उपस्थिति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता दलहरू अस्तित्वको प्रश्न भएकाले सम्भवत : गठबन्धनबिना चुनावमा जाने छैनन् । अर्कातिर कांग्रेस र एमालेजस्ता प्रमुख पार्टी पनि झिनो मत संख्याले मात्र एकअर्काविरुद्ध जित निकाल्ने हुनाले एक्लै लडेर कम जित्नुभन्दा गठबन्धन बनाएर सिट संख्या उल्लेख्य बढाउन चाहन्छन् । दलहरूले गठबन्धनका विभिन्न सम्भावनामा गृहकार्य जारी राखेका छन् । अहिले नै यस्तो गठबन्धन बन्ला भन्न सकिने अवस्था छैन । दलहरूबीच छलफलमा आएका गठबन्धनका आकारलाई मानक बनाएर केही सम्भावना आकलन भने गर्न सकिन्छ । तीन वटा सम्भावित गठबन्धनको चित्र र त्यसले निर्वाचनमा ल्याउन सक्ने परिणाम यस्तो हुन सक्छ ।

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारूढ गठबन्धनले निरन्तरता पाउने एउटा सम्भावना छ । एमालेविरुद्ध संसदीय समीकरण गरेर सरकार बनाएका र गत स्थानीय तहमा कैयौं पालिकाबाट यसको लाभ पाइसकेकाले पनि ती दलले गठबन्धनलाई निरन्तरता दिने सम्भावना छ । यस्तो गठबन्धन बने सबैभन्दा बढी नोक्सान एमालेलाई हुनेछ । वडाध्यक्षले पाएको मतलाई हेर्दा यस्तो गठबन्धनविरुद्ध एमालेले जम्मा ९ निर्वाचन क्षेत्रमा जित्न सक्नेछ ।